काठमाण्डौ । नेपालका लागि इजरायलका राजदुत बेनी ओमरले नेपालको कृषि प्रबिधिको आधुनिकीकरण र उत्पादनको व्यवसायीकरणको क्षेत्रमा नेपाललाई सहयोग गर्न इजराइल तयार रहेको कुरा बताएका छन् ।

नेपाल च्याम्बर अफ कमर्सले उनको स्वागतमा राजधानीमा बुधबार आयोजित स्वागत कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

कृषिको आधुनिकरण र बैज्ञानिकीकरण बिना कृषि प्रधान देशको आर्थिक समृद्धि हासि गर्न कठीन हुने भन्दै उनले भने,“नेपालको कृषि क्षेत्रको प्रबद्र्धन  र विकासका लागि हामी सबै खालको सम्भाव्यता अध्ययन गरी सहयोग गर्न तयार छौ।” 

दुई देशको ब्यापार प्रवद्र्धनका लागि आफ्नो देशको अनुभव, सूचना र व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान महत्वपूर्ण हुने भन्दै आफ्नो देश त्यसका लागि पनि सहकार्य गर्न तयार रहेको वचन दिए । 

कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको कृषिको आधुनिकीकरण र पर्यटन बिकासका लागि दुई देशबीच बलियो सहकार्यको आवश्यकता समेत औंल्याए ।

नेपालको आर्थिक समृद्धिका लागि दुईपक्षीय र बहुपक्षीय सहकार्यको जरुरी रहेको उल्लेख गर्दै उनले अगाडि थपे, “दुई पक्षीय ब्यापारलाई अभिवृद्धि गर्न, ब्यापार र बाणिज्यमा हुने नबिन कुराहरुको आदानप्रदान गर्न, दुई देशको ब्यापार र लगानीको क्षेत्रमा संयुक्त अनुसन्धान र प्रकाशनको कामहरु अगाडि बढाउन, आधुनिक प्रविधिको आदानप्रदान गर्न र दुईपक्षीय व्यापारिक भ्रमणलाई बढावा दिन दुई देशका नीजि क्षेत्रबीच सहकार्य आवश्यक छ।”

कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवाल सहित कार्यसमितिका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।