काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोना भाइरसको रोकथामका क्रममा जारी गरिएको ‘लकडाउन’ का अवधिमा कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ । 

मन्त्रालयले दूध, तरकारी, फलफूल, माछा, अण्डा, मासु तथा खाद्यान्नलगायत सामग्रीको नजिकको बजार केन्द्र वा राजधानी उपत्यकामा ढुवानी गर्दा २५ प्रतिशत अनुदान स्थानीय तहमार्फत उपलब्ध गराउने भएको हो । मन्त्रालयले किसान तथा उत्पादकलाई बजार       केन्द्रसम्म आफ्ना उत्पादन बिक्री गर्न सवारीसाधनको पासको व्यवस्थासमेत गरेको छ । किसानलाई परेको असरको अभिलेख तयार पारी आवश्यक कार्यक्रम ल्याउन पनि मन्त्रालय लागि परेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कठिन परिस्थितिमा अत्यावश्यक खाद्य सामग्रीको सहज आपूर्तिका लागि आवश्यक प्रबन्ध गरिएकाले दैनिकीसमेत अवरुद्ध हुन नदिन सावधानीपूर्ण ढङ्गले सहज आपूर्ति गराइने बताउनुभयो । मन्त्रालयका उपसचिव डा गङ्गा आचार्यले सबै स्थानीय तहलाई किसानमा परेको समस्याको अभिलेख उपलब्ध गराउन पत्राचार गरिएको बताउँदै  उत्पादकलाई उत्पादन नरोक्न र ढुवानीमा सहज वातावरण बनाइदिन सम्बन्धित प्रशासनसँग आग्रह गरेको जानकारी दिनुभयो ।