काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेड र कृषि विकास बैंकले आफ्ना सेयरधनीलाई वितरणको घोषणा गरेको ठूलो मात्राको हकप्रद निश्कासनको प्रक्रियाले गति लिएको छ । 

सिद्धार्थ बैंकले २५ प्रतिशत अर्थात करिब ७५ करोड ५५ लाख तथा कृषि विकास बैंकले ५० प्रतिशत अर्थात करिब १ अर्ब ९६ करोड हकप्रद निश्कासनको प्रक्रियाले गति लिएको हो । 

यो क्रममा सिद्धार्थ बैंकको प्रस्तावित हकप्रदलाई नेपाल धितोपत्र बोर्डले अन्तिम स्वीकृति प्रदान गरेको छ भने आइतबार मात्र अन्तिम स्वीकृति प्राप्त गरेको कृषि विकास बैंकले हकप्रद निश्कासनका लागि बुक क्लोजको मिति तोकेको छ । 

सिद्धार्थ बैंकको गत बैशाख १२ गते सम्पन्न विशेष साधारणसभाले चुक्तापूँजीको २५ प्रतिशत अर्थात ४ बराबरको १ को दरले ७५ करोड ५५ लाख भन्दा बढी मूल्यको हकप्रद निश्कासनको प्रस्ताव  पारित गरेको थियो । लक्ष्मी क्यापिटल मार्केट्स लिमीटेड सिद्धार्थ बैंकको हकप्रदको निश्कासन र व्यवस्थापनमा बिक्री प्रबन्धकको काम गर्नेछ । 

यो बैंकले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासमा १ अर्ब २६ करोड खूद नाफा आर्जन गरेको थियो । हाल यो बैंकको चुक्तापूँजी ३ अर्ब २ करोड रुपैयाँ छ । २५ प्रतिशत बोनस सेयरको निश्कासन तथा व्यवस्थापनपछि चुक्तापूँजी ३ अर्ब ७७ करोड पुग्नेछ । 

उता, कृषि विकास बैंकको बैशाख १४ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको ५० प्रतिशत हकप्रदको निश्कासनका लागि बैंकले बुक क्लोजको मिति तोकेको छ । 

प्रस्तावित हकप्रदलाई आइतबार मात्र बोर्डले अन्तिम स्वीकृति प्रदान गरेको थियो । 

५० प्रतिशत हकप्रदका लागि बैंकले बुक क्लोजको मिति असोज १० लाई तोकेको छ । यसको अर्थ असोज ९ गतेसम्म कृषि विकास बैंकको सेयरधनी भएका वा आफ्नो नाममा सेयर नामसारी गरेकाहरुले मात्र स्वीकृत हकप्रद भर्न पाउनेछन् ।

यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल १ करोड ९६ लाख ८८ हजार कित्ताको कुल १ अर्ब ९६ करोड रुपैयाँको हकप्रद निश्कासन गर्न लागेको हो । 

एस क्यापिटल लिमीटेडले कृषि बैंकको हकप्रद निश्कासन र व्यवस्थापनमा बिक्री प्रबन्धकको काम गर्नेछ । कृषि विकास बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा २ अर्ब ५७ करोड खूद नाफा आर्जन गरेको थियो । ५० प्रतिशत हकप्रदको निश्कासन र व्यवस्थापनपछि कृषि विकास बैंकको चुक्तापूँजी ५ अर्ब ८९ करोड पुग्नेछ ।