काठमाण्डौ । कृषि विकास बैंक लिमीटेडले खुल्ला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्ने भन्दै विभिन्न ४ पदका लागि ६७ जनशक्ति मागेको छ । 

बैंकले तृतीय श्रेणीको अधिकृत स्तरको पदमा काम गर्ने गरी जनशक्ति मागेको हो । लेखा अधिकृत पदमा ११ जना, कम्प्युटर अधिकृत पदमा ६ जना, कानून अधिकृत पदमा १० र व्यवसाय अधिकृत पदमा ४० जना कर्मचारी मागेको छ । 

आइतबार आवश्यकता सम्बन्धी सूचना जारी गर्दै मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउण्टेन्ट(सिए) उतीर्ण भई नेपाल चार्टर्ड एकाउण्टेन्ट संस्थाको सदस्यता प्राप्त गरेको र मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उतीर्ण गरी क वर्गको वाणिज्य बैंकमा सिएको रुपमा २ वर्ष काम गरेकाले आवेदन दिन सक्ने गरी लेखा अधिकृतमा जनशक्ति माग गरेको छ । ११ पद अन्तर्गत खुल्ला ७, महिला १, आदिवासी जनजाति १, मधेशी १ र पिछडा क्षेत्रका लागि १ जनाको कोटा छुट्याइएको छ । 

यसैगरी, ६ जना कम्प्युटर अधिकृत मागिएकोमा खुल्ला ४, आदिवासी जनजाति १ र पिछडिएको क्षेत्रका लागि १ जनाको कोटा छुट्याइएको छ । यो पदमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्प्युटर, सफ्टवेयर वा हार्डवेयरमा स्नातक वा कम्प्युटर इन्फर्मेसन सिस्टममा स्नातक गरी क वषर््को वाणिज्य बैंकमा सिबीएस को टी २४ सिस्टममा ३ वर्ष कार्य गरेकोले आवेदन दिन सक्ने बताइएको छ । 

मान्यताप्राप्त शिक्षण संस्थाबाट कानून बिषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेका लागि भन्दै १० जना कानून अधिकृत पदमा समेत दरखास्त आह्वान गरिएको छ । यो पदतर्फ खुल्लाका लागि ६, महिला १, आदिवासी जनजाति १, मधेशी १ र पिछडा क्षेत्रका लागि १ जनाको कोटा छुट्याइएको छ । 

सबैभन्दा बढी व्यवसाय अधिकृत पदमा जनशक्ति मागिएको छ । कुल ४० जना मागिएकोमा २२ जना खुल्ला, महिलातर्फ ५, आदिवासी जनजातितर्फ ५, मधेशीतर्फ ४, दलित २, अपांग १ र पिछडा क्षेत्रका लागि १ जनाको कोटा छुट्याइएको छ । यो पदमा एमबीए वा एमबीएस प्रथम श्रेणीमा उतीर्ण गरेकाहरुले आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

कर्मचारी आवश्यकता सम्बन्धी बाँकी जानकारी समाचारको सबैभन्दा तल राखिएको विज्ञापनको जेपीजी फाइल(फोटो फाइल)मा डबल क्लिक गरी पढ्न सक्नुहुनेछ ।