काठमाण्डौ । कृषि विकास बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ३ अर्ब ६७ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ५४ करोडमा सीमित थियो । यो हिसाबले हेर्दा बैंकले ४४.१२ प्रतिशतले नाफा बढाएको देखिएको छ । बैंकले संभावित नोक्सानी व्यवस्थाबाट १ अर्ब ८८ करोड बढी फिर्ता ल्याएको समेत देखिएको छ । 

बैंकले अघिल्लो वर्ष २ अर्ब २५ करोडमा सीमित संचालन मुनाफालाई बढाएर ३ अर्ब ४१ करोडको उचाई चुमाएको छ भने खूद ब्याज आम्दानी भने घटेको छ । 

अघिल्लो वर्ष ७ अर्ब ९ करोड रहेको खूद ब्याज आम्दानी घटेर यो वर्ष ६ अर्ब ८७ करोडमा सीमित बन्न पुगेको हो । बैंकले ब्याजबाट मात्रै १३ अर्ब ८४ करोड आम्दानी गरेको थियो, तर ७ अर्बको हाराहारीमा ब्याज खर्च भएकोले समेत नाफा अझै बढ्न सक्ने संभावना टर्यो । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ५ अर्ब निक्षेप संकलन गरी ९६ अर्ब ४९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ९९ अर्ब ८१ करोड निक्षेप संकलन गरी ८८ अर्ब २० करोड कर्जा परिचालन गरेको थियो । 

यो बैंकले समेत जगेडा तथा कोषलाई थप मजबुत बनाएको छ । अघिल्लो वर्षसम्म ७ अर्ब ८५ करोड रहेको कोषमा समीक्षा अवधिसम्ममा ११ अर्ब ५४ करोड जम्मा भएको छ । 

बैंकले ४.६० प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जा घटाएर ३.१९ प्रतिशतमा झार्ने सफलता पाएको छ भने कोषको लागत ७.३८ प्रतिशत रहेको छ । यस्तै, कर्जा निक्षेप अनुपात ७७.५२ प्रतिशत, आधार ब्याजदर ११.७३ प्रतिशत, औसत ब्याजदर अन्तर ५.४६ प्रतिशत, प्रतिसेयर आम्दानी ३९.३६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३१.८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७.९८ गुणा, सम्पत्तिमा प्रतिफल २.८२ प्रतिशत, इक्वीटीमा प्रतिफल १४.३४ प्रतिशत कायम भएको छ ।