काठमाण्डौ । कृषि विकास बैंक लिमिटेले निकाल्न लागेको रु. २.५ अर्ब रुपैयाँको ऋणपत्रले सुरक्षित रेटिङ पाएको छ ।

इक्रा नेपालले सार्वजनिक गरेको रेटिङ प्रतिवेदनअनुसार बैंकले न्यून जोखिम रहेको रेटिङ ‘इक्रा एनपी एलए’ प्राप्त गरेको छ । यो रेटिङले बैंकको ऋणपत्रमा लगानी गर्दा एकदमै कम जोखिम रहने संकेत गर्दछ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले सबै वाणिज्य बैंकलाई प्राथमिक पुँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नैपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । सोही नीति कार्यान्वयन गर्ने क्रममा कृषि विकास बैंकले ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रमा १०.३५ प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।

नेपाल सरकारको ५१ प्रतिशत सेयर रहेको कृषि विकास बैंकको वित्तीय अवस्था राम्रो रहेकोले सुरक्षित रेटिङ पाएको हो ।

बैंकले रु. १ हजार अंकित दरका २५ लाख कित्ता ‘एडीबीएल कृषि विकास बैंक लिमिटेड–२०८३’ ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिइसकेको छ । सात वर्षे यो ऋणपत्र सेबोनबाट अनुमति पाएपछि बैंकले सर्वसाधारणका लागि जारी गर्नेछ ।