काठमाण्डौ । कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रु.४ करोड ७६ लाख लुट्ने गिरोहका एक सदस्य काठमाण्डौबाट पक्राउ परेका छन् ।

मोरङ रंगेली नगरपालिकाका ४३ वर्षीय दीपक नेपाललाई नेपाल प्रहरकिो महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाण्डौको गोल्फुटारबाट पक्राउ गरेको हो । कृषि विकास बैंकको गोल्फुटार शाखामा ९ लाख रुपैयाँको चेक साट्न गएका बेला नेपाल पक्राउ परेको प्रहरीले जनाएको छ।

लुटिएको ४ करोड ७६ लाख रुपैयाँमध्ये नेपालको खातामा १ करोड मौज्दात रहेको पाइएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । सोही मौज्दात रकममध्ये ९ लाख रुपैयाँ झिक्न गएको बेला बैंककै सूचनाका आधारमा उनलाई पक्राउ गर्न सफल भएको एसएसपी थापाले बताए ।

नेपाल नेपालका बैंक तथा वित्तीय संस्थाका सिस्टम ह्याक गर्ने समूहका एजेन्ट रहेको खुलेको छ । यसअघि यो प्रकरणमा १८ जना एजेन्टहरू पक्राउ परेका थिए ।

गत असोज ५ गते कृषि विकास बैंकको सिरहा शाखाको सिस्टम ह्याक गरेर उक्त पैसा सोही बैंकमा रहेको विभिन्न व्यक्तिको खातामा ट्रान्सफर गरिएको थियो । पछि तिनै व्यक्तिले रकम खाताबाट निकालेका थिए ।

यो प्रकरणको मुख्य योजनाकार अफ्रिकन नागरिक रहेको प्रहरीको दाबी छ।