काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले साढे २ अर्बको ऋणपत्र माघ १४ गतेदेखि बिक्री खुला गर्ने भएको छ ।

चार दिनअघि नेपाल धितोपत्र बोर्डबाट निष्कासन अनुमति पाएसँगै बैंकले रु. १ हजार दरका कुल २५ लाख युनिट रहेको ‘१०.३५% एडीबीएल कृषि बैंक ऋणपत्र, २०८३’ बिक्री खुलाउने भएको हो । यो बैंकले जारी गर्न लागेको ऋणपत्रमा लगानी गर्नेहरुका लागि हाल वाणिज्य बैंकहरुले अफर गरेको भन्दा केही बढी ब्याजदर अफर गरिएको छ ।

हाल बजारमा आइरहेका वाणिज्य बैंकका ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशतसम्म ब्याज पाउँछन् । तर, कृषि विकास बैंकको ऋणपत्रमा भने १०.३५ प्रतिशत ब्याज पाइनेछ । सात वर्षे अवधिको ऋणपत्रमा ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।

कुल निश्कासन हुने कित्तामध्ये पब्लिकका लागि १० लाख र  प्राइभेट प्लेसमेन्टका आधारमा १५ लाख कित्ता बिक्री हुनेछ ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्कासन छिटोमा माघ १७ गते र ढिलामा फागन १४ गते बन्द हुनेछ ।

नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत बैंकहरुले कोर क्यापिटलको २५ प्रतिशतसम्म ऋणपत्र निश्कासन गर्नुपर्ने व्यवस्था गरेपछि एकपछि अर्को गर्दै ऋणपत्रहरु बजारमा आइरहेका छन् । बजारमा आउने यस्ता ऋणपत्रमध्ये धेरै कम बित्तीय संस्थाको ऋणपत्र मात्र सबै बिक्री हुन सकेका छन् ।

बैंकहरुले दीर्घकालीन प्रकृतिका कर्जा प्रवाह गर्ने, तर स्रोत भने अल्पकालीन खालका मात्र आएपछि मिसम्याच हुने गरेको थियो । यसलाई कम गर्न दीर्घकालीन स्रोतको रुपमा ऋणपत्रमा जान नीतिले प्रेरित गरेको हो ।

कृषि विकास बैंकको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ ।