काठमाण्डौ । कृषि विकास बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि लगानीकर्ताहरुलाई ११ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ।

आइतबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म १ अर्ब ६६ करोड ५३ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। बैंकको चुक्तापुँजी भने १४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। यो हिसाबले पनि बैंकले ११ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको हो। 

चौथो त्रैमाससम्म बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा १७.२६ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ४ अर्ब १९ करोड रुपैयाँ रहेको खुद नाफा समीक्षा अवधिमा घटेर ३ अर्ब ४६ करोडमा सीमित बनेको छ। 

समीक्षा अवधिसम्म बैंकले सञ्चालन मुनाफाबाट ४ अर्ब ४५ करोड रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्म ५ करोड ३४ करोड रुपैयाँ रहेको थियो। 

यो त्रैमाससम्म बैंकले खुद ब्याज आम्दानीबापत ६ अर्ब २३ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म यो खुद ब्याज आम्दानी ७ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो। 

बैंकले १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ खर्ब १८ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

बैंकले रिजर्भको आकार समीक्षा अवधिमा ८.४६ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष १० अर्ब ४८ करोड रुपैयाँको रिजर्भको आकार बढेर ११ अर्ब ३६ करोड रुपैयाँको उचाइमा पुगेको छ।

समीक्षा अवधिमा बैंकले खराब कर्जामा सुधार गरेको छ। अघिल्लो वर्ष खराब कर्जा (एनपीए) अनुपात ३.२९ प्रतिशत रहेकोमा समीक्षा अवधिमा घटेर २.७१ प्रतिशतमा सीमित बनेको छ। 

बैंकको सीडी रेसियो अघिल्लो वर्ष ७८.७२ प्रतिशत रहेकोमा समीक्षा अवधिमा घटेर ६६.३१ प्रतिशतमा झरेको छ। आधार दर भने १०.५८ प्रतिशतबाट घटेर ९.२६ प्रतिशतमा सीमित बनेको छ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३२.८८ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (.पीई रेसियो) ११.७१ गुणा रहेको बैंकको प्रतिसेयर खुद मूल्य २३७.५४ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८१७.१८ रहेको छ।