काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कृषि विकास बैंकले वितरणयोग्य मुनाफातर्फ सामान्य प्रगति गरेको छ । 

अघिल्लो वर्ष यही अवधिमा १ अर्ब २ करोड रहेको यस्तो नाफा बढेर यो वर्ष १ अर्ब ९ करोडको उचाईमा पुगेको हो । 

बैंकको अघिल्लो वर्ष १ अर्ब २ करोडमा सीमित खूद नाफा बढेर यो वर्ष १ अर्ब ३६ करोड पुगेको छ भने १ अर्ब २६ करोडमा सीमित संचालन मुनाफामा ४१.६५ प्रतिशतको वृद्धि भई १ अर्ब ७८ करोड पुगेको छ ।

व्यवसाय बिस्तार र ब्याज खर्च नियन्त्रणमा ध्यान दिएका कारण बैंकको खूद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ३४.६७ प्रतिशतले बढी ३ अर्ब ५७ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा कृषि विकास बैंकले १ खर्ब १० अर्ब निक्षेप संकलन गरी १ खर्ब ७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप १२.१८ प्रतिशतले बढेको छ भने कर्जातर्फ १६.१५ प्रतिशतको प्रगति भएको छ । 

बैंकले अघिल्लो वर्ष ८ अर्ब ९२ करोडमा सीमित रिजर्बमा ५९.४३ प्रतिशतको फड्को मार्दै १४ अर्ब २२ करोडको उचाई चुमेको छ । 

यो बैंकमा खराब कर्जा भने थुप्रिदै गएको छ । अघिल्लो वर्ष ३.९५ प्रतिशतको अनुपातमा रहेको यस्तो कर्जा बढेर ४.५ प्रतिशत पुगेको हो ।

समीक्षा अवधिमा ११.१५ प्रतिशत बेस रेट कायम गरेको बैंकले प्रतिसेयर आम्दानी भने २०.३६ बाट बढाएर २८.२४ रुपैयाँ कायम गरेको छ । 

प्रतिसेयर नेटवर्थ २६७.२१ रुपैयाँ रहेको बैंकको मूल्य आम्दानी अनुपात १२.३८ गुणा कायम भएको छ ।