काठमाण्डौ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २ अर्ब २१ करोड खूद नाफा आर्जन गरेको छ । 

यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा चाहि १ अर्ब ३२ करोड रहेको छ।

अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकको खूद नाफा २३.०८७ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा १ अर्ब ७९ करोडमा सीमित थियो । 

अघिल्लो वर्ष यही अवधिमा २ अर्ब २६ करोड रुपैयाँमा सीमित संचालन मुनाफालाई बढाएर बैंकले २ अर्ब ७६ करोडको उचाईमा पुर्याएको छ भने ४ अर्ब ४१ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ५ अर्ब ३० करोडको उचाईमा पुगेको छ । 

बैंकले समीक्षा अवधिमा ११ अर्ब बढी ब्याज आम्दानी गरे पनि ब्याज खर्च समेत ५ अर्ब बढी हुँदा खूद ब्याज आम्दानी औसत रहेको देखिएको हो । 

बैंकको रिजर्बमा भने संकुचन देखिएको छ। अघिल्लो वर्षको यही अवधिमा ९ अर्ब ९२ करोड रहेको रिजर्बको आकार घटी ९ अर्ब ८६ करोडमा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिमा बैंकले १ खर्ब १२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ९ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १ खर्ब ४ अर्ब निक्षेप संकलन गरी १ खर्बको हाराहारीमा कर्जा परिचालन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४९.४३ प्रतिशतले बढेर ३७.२४ रुपैयाँ पुगेको छ । 

बैंकले ५.९८ प्रतिशतको अत्यासलाग्दो अवस्थामा रहेको खराब कर्जाको अनुपातलाई घटाएर ४.२२ प्रतिशतको सीमा ल्याउने सफलता पाएको छ ।

नेपाल राष्ट्रबैंकले खराब कर्जाको सीमा अधिकतम ५ प्रतिशत तोकेको छ। 

अघिल्लो वर्ष यही अवधिमा ७.१५ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ७.३६ प्रतिशत पुगेको छ भने १२.७२ प्रतिशत रहेको आधार दर घटेर ११.१६ प्रतिशतमा सीमित भएको छ ।

यसरी समीक्षा अवधिमा बैंकको कर्जा तथा सापट सम्पत्ति र निक्षेप दायीत्व दुवैमा वृद्धि भएको देखिएको छ।