काठमाण्डौ । कृषि विकास बैंकमा चौथो तहदेखि अधिकृत नवौँ तहसम्म विभिनन ९ पदमा ३८४ जनालाई जागिरको अवसर खुलेको छ । 

बैंकले खुला प्रतिस्पर्धाबाट प्रशासन र प्राविधिकतर्फ ठूलो संख्यामा कर्मचारी पदपूर्ति गर्न असार ३१ गते मंगलबारबाट आवेदन खुला गरेको हो । बैंकले उपत्यका र उपत्यका बाहिरका लागि लेखापाल (चौथो तह) देखि वरिष्ठ शाखा प्रमुख (नवौँ तह) सम्म पदपूर्ति खुलाएको हो । 

बैंकले सबैभन्दा धेरै प्रशासनतर्फ व्यवसाय सहायक (पाँचौँ तह) मा १०७ र लेखापाल (चौथो तह) भैरहवा केन्द्रका लागि १०० जना कर्मचारी माग गरेको छ। त्यस्तै बैंकले विराटनगर केन्द्रका लागि ६७ र सुर्खेत केन्द्रका लागि पनि ४२ जना लेखापालका लागि दरखास्त आह्वान गरेको छ । 

यसैगरी बैंकले प्रशासनतर्फ वरिष्ठ लेखा अधिकृत (सातौँ तह) २२ जना, प्राविधिक आईटीतर्फ वरिष्ठ इन्जिनियर (सातौँ तह) २० र प्रशासनतर्फ वरिष्ठ शाखा प्रमुख (नवौँ तह) मा ८ जनाका लागि आवेदन खुलाएको छ । 

बैंकले प्रशासनतर्फ १३ जना एमआईएस सहायक (पाँचौँ तह) माग गरेको छ भने प्राविधिकतर्फ ओभरसियर (सिभिल) ५ जना माग गरेको छ ।   

बैंकले वरिष्ठ शाखा प्रमुखका हकमा अर्थशास्त्र, कानुन, व्यवस्थापन, सूचना प्रविधि विषयमा प्रथम श्रेष्णीमा स्नातकोत्तर तह उत्तीर्ण भएको र नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा अधिकृतस्तरको पदमा कम्तीमा सात वर्षको कार्यनुभव भएको हुनुपर्ने प्रावधान राखेको छ । 

त्यस्तै वरिष्ठ लेखा अधिकृत (सीए/एसीसीए) पदका लागि चार्टड एकाउन्टेन्सी सीए वा एसीसीए को उपाधि र स्नातक तह उत्तीर्ण भएको हुनुपर्नेछ । वरिष्ठ इन्जिनियर पदका लागि भने उम्मेदवारले आईटीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ। 

यसैगरी व्यवसाय सहायक पदका लागि उम्मेदवारले व्यवस्था, वाणिज्य वा व्यापार संकाय वा मानविकी संकायमा मूलय विषय अर्थशास्त्र लिई स्नातक तह उत्तीर्ण भएको तथा कम्प्युटरसम्बन्धी न्युनतम तीन महिने आधारभूत तालिम हासिल गरेको हुनुपर्नेछ । 

एमएसआई पदका लागि उम्मेदवार सम्बन्धित विषयमा स्नातक र लेखापालले प्लस टु उत्तीर्ण गरेको हुनुपर्ने छ भने ओभरसियरका लागि सम्बन्धित सिभिल इन्जिनियरिङ विषयमा तीनवर्षे डिप्लोमा कोर्ष उत्तीर्ण गरेको हुनुपर्ने छ । 

उम्मेदवारले भदौ २० गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुरमा भदौ २७ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

उम्मेदवारले www.recruitment.adbl.gov.np मा अनलाइन आवेदन दिनुपर्नेछ ।