काठमाण्डौ । सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि २२ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।

चौथो त्रैमास विवरणअनुसार बैंकले ३ अर्ब ३१ करोड रुपैयाँ वितरणयोग्य मुनाफ आर्जन गरेको हो । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा १९.१५ प्रतिशतले बढाउन सफल भएको छ । 

समीक्षा अवधिमा बैंकले ४ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा ३ अर्ब ३८ करोड रुपैयाँ थियो । 

बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । यसले बैंकको व्यवसाय विस्तार सन्तोषजनक रहेको देखाउँछ । 

अघिल्लो वर्षका तुलनामा बैंकको सञ्चालन मुनाफा ५३ करोड ४७ लाख रुपैयाँले बढेर ५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । बैंकको अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन मुनाफा ४ अर्ब ९४ करोड रुपैयाँ थियो । 

त्यस्तै अघिल्लो वर्ष ९ अर्ब ४३ करोड रुपैयाँ रिजर्बको आकार बढाएर बैंकले १० अर्ब ४० करोड रुपैयाँ पुर्याएको छ । 

बैंकले रिटेन अर्निङतर्फ ४५.९७ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष २ अर्ब ८८ करोड रुपैयाँ रिटेन अर्निङ रहेको बैंकको समीक्षा अवधिमा ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । 

बैंकले १ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब रुपैयाँ ऋण प्रवाह गरेको । अघिल्लो वर्ष सोही अवधिमा बैंकले १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ६२ करोड ऋण प्रवाह गरेको थियो। 

बैंकको प्रतिसेयर आम्दानी ४४.६७ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा २.९० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३.४१ प्रतिशत रहेको थियो । बैंकको खराब कर्जामा ०.५१ प्रतिशतले घटेको देखाएको छ । 

बैंकको क्यापिटल एडेक्वेसी रेसियो २०.३३ प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ७.४१ प्रतिशत र सीडी रेसियो ७८.७२ प्रतिशत रहेको छ । 

बैंकले समीक्षा अवधिमा आफ्नो आधार दरलाई १०.५८ प्रतिशतमा सीमित गर्न सफल भएको छ । 

बैंकको प्रतिसेयर नेटवर्थ ३१४.१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.१६ गुणा कायम भएको छ ।