काठमाण्डौ । नेपाली ह्याकरहरुले कृषि विकास बैंकको सिस्टम ह्याक गरी ३ करोडभन्दा बढी रकम आफ्नो खातामा तान्न सफल भएको खुलासा भएको छ ।

कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम आफ्नो खाता पठाउने कार्यमा संलग्न ९ जनालाई मंगलबार राति काठमाण्डाका विभिन्न स्थानबाट पक्राउ गरेपछि यो कुरा बाहिर आएको छ । आफ्नो खातमा रकम सारेर एउटा कुनै रेमिट कम्पनीबाट रकम झिक्दै गर्दा तीनजनालाई नियन्त्रणमा लिएपछि प्रहरीले अन्य ६ जनालाई पनि पक्राउ गर्न सफल भएको हो । ‘यो कार्यमा अन्य संलग्न हुन सक्ने भएकोले अनुसन्धान गरिरहेका छौँ’, एक उच्च प्रहरी अधिकारीले भने।

कृषि विकास बैंकको कुन–कुन शाखाको सिस्टम ह्याक गरी रकम ट्रान्सफर गरियो भन्नेबारेमा यकिन भइसकेको छैन । यद्यपि ह्याकरहरुले रकम आफ्नो खातामा ट्रान्सफर गरे पनि झिक्न भने नपाएको प्रहरीको दाबी छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले कृषि विकास बेंकको सिस्टम ह्याक गरी केकति रकम झिकियो भन्नेबारे यकिन भइनसकेको जानकारी दिए । ‘हामी अहिले अनुसन्धान गरिरहेका छौँ, डिटेलमा पछि सबै कुरा बाहिर आउँछ’, उनले भने।

एसएसपी थापाका अनुसार पक्राउ परेका र घटनाबारे जानकारी दिन आज दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन राखिएको छ । 

यसअघि राजधानीका विभिन्न बैंकको एटिम ह्याक गरी डेढ करोडभन्दा बढी रकम चोरी गर्ने कार्यमा संलग्न ६ जना चिनियाँलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।