काठमाण्डौ । कृषि विकास बैंक लिमीटेडको लहान शाखाका म्यानेजरको कमजोरीका कारण कर्मचारीहरुको मिलेमतोमा करिब २ करोड रुपैयाँ अनधिकृत ढंगले व्यक्तिगत खातामा ट्रान्सफर भएको बैंकले जनाएको छ । 

बैंकका डेपुटी सीइओ प्रताप सुवेदीले कृषि विकास बैंकको सिस्टम विश्वकै स्तरीयमध्येमा पर्ने दाबी गर्दै ह्याक नभएको, बरु लहान शाखाका म्यानेजरको पासवर्ड दुरुपयोग गरी कर्मचारीहरुले करिब २ करोड व्यक्तिगत खातामा ट्रान्सफर गरेका दाबी गरेका हुन् । 

लहान शाखाका म्यानेजर रामसेवक यादव यो घटना हुँदा तालिमका लागि काठमाण्डौ आएका थिए । उनी काठमाण्डौ आएको मौका छोपी लहान शाखाकै कर्मचारीहरुले उनको पासवर्ड प्रयोग गरी सिस्टमबाट अनधिकृत रुपमा रकम ट्रान्सफर गरेका भेटिएको छ । घटनामा शाखाका सेकेण्ड म्यानको समेत संलग्नताको आशंका गरिएको छ । 

बैंकले अति नै संवेदनशील मानिने सिस्टमको पासवर्ड सुरक्षित तथा गोप्य राख्न नसक्नुमा बैंक म्यानेजर यादवको समेत दोष देखिने प्रष्ट पारेको छ । 

मंगलबार कार्यालय समयमै अनिधकृत रुपमा विभिन्न कारोबारहरुमार्फत एकैपटक ठूलो रकम व्यक्तिगत खातामा गएपछि बैंकको सिस्टमले नै यो कुरा पत्ता लगाएको र बैंक सजग भई ट्रान्सफर भइसकेको रकम दुरुपयोग हुन नपाएको सुवेदीले दाबी गरेका छन् । 

यो घटनामा संलग्नताको आरोपमा बैंकका केही कर्मचारीसहित ९ जनालाई प्रहरीले मंगलबार नै पक्राउ गरिसकेको छ । 

घटनापछि बैंकको एक टोली लहान शाखा पुगेको छ भने नेपाल राष्ट्रबैंकले समेत बैंकको उच्च व्यवस्थापनसँग छलफल गरिरहेको छ । 

बैंकले आफ्नो सिस्टम पूर्ण रुपमा सुरक्षित रहेको, निक्षेपकर्ताले जम्मा गरेको रकम दुरुपयोग नभएको भन्दै नअत्तालिन समेत निक्षेपकर्ताहरुमा आह्वान गरेको छ । ‘हाम्रो बैंकको सिस्टम टी ट्वान्टी फोर हो, जुन संसारकै नम्बर वान बैंकिङ सिस्टम हो ।’ सुवेदीले भने ।  

यसरी पक्राउ परे दोषी
सिस्टमबाटै गडबडी भएको पत्ता लागेपछि बैंकले पैसा ट्रान्सफर भएका अकाउण्टहरु तत्कालै ब्लक गरेको थियो । ब्लक गरिएका खाताहरुबाट धनगढीको भजनी र काठमाण्डौ न्यूरोड शाखाबाट चेक साट्न खोज्दा घटनामा संलग्नहरु पक्राउ परेका थिए । त्यसपछि प्रहरीले बैंकसँगको सहकार्यमा ब्लक भएको सिस्टम केहीबेर खोलेजस्तो गरी निगरानी बढाएको थियो । यो ट्रिकले समेत काम गरी अन्य शाखाबाट समेत पैसा साट्न खोज्ने क्रममा केही पक्राउ परेका बताइएको छ ।