काठमाण्डौ । कर्मचारीसहितको गिरोहले कृषि विकास बैंक, नवील बैंक लगायतका वाणिज्य बैंकको सिस्टम ह्याक गरी ५ अर्ब रुपैयाँभन्दा बढी रकम चोरी गर्ने योजना बनाएको खुलेको छ । 

प्रहरीले पत्रकार सम्मेलनमार्फत प्रारम्भिक अनुसन्धानको क्रममा ५ अर्ब रुपैयाँ भन्दा बढी रकम कृषि विकास, नवील लगायतका बैंकबाट मात्रै चोरी गर्ने गिरोहको योजना रहेको दाबी गरेको हो । 

कृषि विकास बैंकका डेपुटी सीइओ प्रताप सुवेदीले केही समयअघि बैंकको सिस्टम विश्वस्तरीय रहेको भन्दै सिस्टम ह्याक नभएको दाबी गरे पनि प्रहरीले भने बैंकको सिस्टम नै ह्याक गरेर पैसा चोरी गरिएको प्रष्ट पारेको छ । 

नेपाली, केही भारतीय र केही विदेशीसहितको गिरोह यो चोरी काण्डमा संलग्न भएको देखिएको प्रहरी बताउँछ । कृषि विकास बैंकको निकै ठूलो रकम चोरी गरी विदेश पुर्याउने योजना भारतमा बसेर बनाइएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । 

सिस्टममा अस्वभाविक रुपमा रकम निकालिएको देखिएपछि लहानस्थित कृषि विकास बैंकका कर्मचारीहरुले नै यो फ्रडको विषयमा प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाएलगत्तै प्रहरी सक्रिय भएका कारण ठूलो घटना हुन नपाएको दाबी गरिएको छ । 

प्रहरीले पत्रकार सम्मेलन गर्दासम्म १२ जनालाई पक्राउ गरेको छ । उनीहरुले कृषि विकास बैंकबाट चोरी गरेको ४० लाख ५० हजार नगद समेत प्रहरीले बरामद गरी पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । 

यो विदेशी गिरोहले नेपाली एजेन्टसँग वीच्याट प्रयोग गरी निकै ठूलो रकम चोरीको योजना बनाएका समेत देखिएको छ । 

गिरोहले करिब ४ करोड बढी रकम चोरी गरी ११ वटा विभिन्न खातमा ट्रान्सफर गरिसकेपछि मात्र प्रहरीले घटनामा संलग्नहरुलाई विभिन्न ठाउँबाट पक्राउ गर्ने सफलता पाएको थियो । 

प्रहरीको दाबी अनुसार यो गिरोहले कृषि विकास बैंकभन्दा अगाडि नवील बैंककै समेत सिस्टम ह्याकको प्रयास गरेको थियो । तर, त्यहाँ सफल नभएपछि उनीहरु कृषि विकास बैंकमा केन्द्रीत भएका देखिएको छ । 

कृषि विकास बैंकबाट रकम चोरी गर्नेहरुले कैलाश विकास बैंकको खाता प्रयोग गरेका थिए ।

प्रहरीका अनुसार विदेशी नागरिक काले भनिने पिटरको नेतृत्वमा रकम चोरी तथा बैंकको सिस्टम ह्याक भएको हो ।

कृषि विकास बैंकबाट हालसम्म ४ करोड ७३ लाख ९६ हजार ह्याक भएको र अरु ह्याक भएको रकमको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै, यो गिरोहले पानस रेमिट नयाँबानेश्वरबाट १२ लाख ह्याक गरेको समेत अनुसन्धानको क्रममा खुलेको छ । 

विदेशी नागरिक काले भनिने पिटर विगत लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालमा मानिसहरुसँग सम्पर्क गरी भारतमा नै बोलाएर बैठक राखी कमिसनको डिल गर्ने गरेको र उनको योजनामै बैंक तथा वित्तीय संस्थाको सिस्टम ह्याक हुने गरेको देखिएको प्रहरीको दाबी छ ।  

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ह्याक गरेको रकम विभिन्न नेपालीहरुको नाममा निकाली १५ देखि ३५ प्रतिशतसम्म कमिसन दिई बाँकी रकम हुण्डीमार्फत पुनः भारत पठाउने गरेको प्रहरीको भनाई छ । 

नेपालका एजेन्टहरुलाई पिटरले नवील बैंक, कृषि विकास बैंक लगायतका बंैकहरुमा चल्ती खाता खोल्न लगाई ह्याक गर्दै आएको समेत देखिएको छ । 

को–को पक्राउ परे ?
सिस्टम ह्याक गरी ५ अर्ब विदेश लैजाने योजना यो गिरोहको रहेको थियो । विभिन्न नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नवील बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाको समेत क्रेण्डेन्सियल ह्याकिङ गरी  रकम निकालिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुको सूचि यसप्रकार छ:
-लवाङ तामाङ(४३ वर्ष)
नुवाकोटको मेघाङ गा.पा. ४
-लक्ष्मी लामा तामाङ(४० वर्ष)
रसुवाको नौकुण्ड गा.पा. ५
-सञ्जय घले(२६ वर्ष)
काठमाण्डौ जिल्ला तार्केश्वर नपा २, काभ्रेस्थली
-निर्मला तामाङ(२० वर्ष)
रसुवा जिल्लाको नौकुण्ड ५
-निमा तामाङ(१८ वर्ष)
रसुवाको नौकुण्ड ५
-पुष्पराज खड्का(४२ वर्ष)
सर्लाहीको हरिवन २
-विद्यासागर लामिछाने(२३ वर्ष)
लमजुङको दोर्दी–३
-श्रवणकुमार श्रेष्ठ(३८ वर्ष)
तनहुँको भानु नपा ९
-सुनिता श्रेष्ठ(३२ वर्ष)
भक्तपुरको ठिमी ४
-शुधन्कर पञ्जा(३० वर्ष)
भारत कोलकाता
-विजय साह(२२ वर्ष)
कैलालीको भजनी नपा ३
-चन्द्रबहादुर बुढा(४५ वर्ष)
कैलालीको भजनी नपा ३