काठमाण्डौ । कृषि विकास बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ । 

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा यो वर्षको सोही अवधिमा खूद नाफा १३४ प्रतिशतले वृद्धि गरेको हो । 

अघिल्लो वर्ष सो अवधिमा ३८ करोड ७५ लाख रुपैयाँ खूद नाफा रहेकोमा सो बढेर ९० करोड ६६ लाखको उचाईमा पुुगेको छ । 

बैंकले सोमबार प्रकाशन गरेको बित्तीय विवरण अनुसार यो अवधिमा ८७ अर्ब ६५ करोड निक्षेप संकलन गरी ८७ अर्ब ५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यो बैंकले ८२ अर्ब ५४ करोड निक्षेप संकलन गरी ६७ अर्ब ५७ करोड कर्जा परिचालन गरेको थियो । यो बैंकको सीसीडी रेसियो ८२.९७ प्रतिशत पुुगेको छ । नेपाल राष्टबैंकले तोकेको अधिकतम सीसीडी रेसियोको सीमा ८० प्रतिशत मात्र हो । 

यो अवधिमा बैंकको खूद ब्याज आम्दानीतर्फ समेत २८.३५ प्रतिशतले वृद्धि भई ३ अर्ब १० करोड पुुगेको छ । 

यो अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २९ रुपैयाँ ४९ पैसा, प्रतिसेयर नेटवर्थ २८४ रुपैयाँ ४२ पैसा र मूल्य आम्दानी अनुपात १८.३८ गुणा कायम भएको छ । 

बैंकमा हाल साधारण सेयरतर्फको चुक्तापूँजी  ४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । यो बैंकले हालै ५० प्रतिशत हकप्रद निश्कासन गरेको थियो भने अघिल्लो आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको थियो । यी दुवै सेयरको पूँजीकरणपछि चुक्तापूँजी ७ अर्ब  ८ करोड रुपैयाँको उचाईमा पुुग्ने बताइएको छ ।