काठमाण्डौ । कृषि विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ७७ करोड ६७ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बैंकको नाफा २ अर्ब ४६ करोड ४६ लाख थियो । 

अघिल्लो वर्षको तुलनामा यो बैंकले खूद नाफातर्फ १२.६५ प्रतिशतको प्रगति मात्र हासिल गरेको देखिएको छ । 

यो अवधिमा बैंकले ११ अर्ब १२ करोड बढी खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ९ अर्ब ६२ करोडमा सीमित थियो । 

अघिल्लो वर्षसम्म २ अर्ब १८ करोडमा सीमित संचालन मुनाफा वृद्धि भई २ अर्ब ८५ करोड पुुगेको छ । 

बैंकले यो अवधिमा ९९ अर्ब ९५ करोड निक्षेप संकलन गरी ८८ अर्ब २९ करोड कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष ८७ अर्ब ३८ करोड निक्षेप संकलन गरी ७९ अर्ब ४८ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षसम्म ६ अर्ब ५७ करोड रुपैयाँ रहेको जगेडा कोष बढाएर ९ अर्ब ८८ करोडको बनाइएको छ । जगेडाकोषको आकार बढ्नुलाई राम्रो संकेतको रुपमा हेरिन्छ । यसले सेयरधनीलाई बोनस सेयर दिनसक्न क्षमता धेरै रहेको जनाउँछ। साथै भइपरी आउने नोक्सानीलाई व्यवस्थापन गर्न पनि यो कोष मजबुत हुनु जरुरी हुन्छ।

यो अवधिमा बैंकले निस्क्रिय कर्जा अनुपातलाई घटाएको छ । अघिल्लो वर्ष ४.३६ प्रतिशतको अनुपातमा रहेको यस्तो कर्जा घटेर २.९७ प्रतिशतमा झरेको हो । अघिल्लो वर्ष ४०.६० रुपैयाँ रहेको प्रति सेयर आम्दानी(इपीएस) घटेर ३४.५८ रुपैयाँमा झरेको छ । यो अवधिमा प्रति सेयर नेटवर्थ २३४.९१ रुपैयाँ, इक्वीटीमा प्रतिफल १५.५४ प्रतिशत, सम्पत्तिमा प्रतिफल २.१९ प्रतिशत, मूल्य आम्दानी अनुपात १२.५८ गुणा कायम भएको छ । इक्वीटीमा प्रतिफल गत वर्ष १८.८९ प्रतिशत रहेको थियो ।

यो बैंकले गत वर्ष ५० प्रतिशत हकप्रद र २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । पूँजीवृद्धिपछि यो बैंकले प्रति सेयर आम्दानीलाई सन्तुलनमा राख्न नसकेको देखिन्छ । तथापि, पछिल्लो समय निकै रुग्ण बनेको यो बैंकले अन्य वाणिज्य बैंकहरुलाई समेत टक्कर दिने गरी कतिपय महत्वपूर्ण सूचकहरुमा राम्रो सुधार गरेको छ । निक्षेप तथा कर्जा परिचालनतर्फको वृद्धि, व्यवसाय बिस्तारपछि वृद्धि भएको खूद ब्याज आम्दानी, संचालन मुनाफातर्फको बढोत्तरी, जगेडा कोषको मजबुतीले यो बैंकले बजारमा आफूलाई बलियो बित्तीय संस्थाको रुपमा उभ्याएको छ । कर्मचारी खर्चमा देखिएको अचाक्ली वृद्धि चिन्ताको बिषय हो । बैंकलाई आफूलाई आधुनिक र कर्मचारीलाई दक्ष बनाउनु अर्को चुनौतिको बिषय बन्ने निश्चित छ ।