-भक्तराज रसाइली
काठमाण्डौ । सुदूरपूर्वकै रमणीय र फेसनेबल सहरको उपमा पाएको सुन्दर नगरी हो–धरान । डाइभर्सिटी सहरका रुपमा चिनिने धरान मात्र यस्तो ठाउँ हो, जुन जिल्ला भन्दा पनि सहरकै नामबाट मुलुकभर वर्षौदेखि सुपरिचित छ । 

यही सहरको भीडमा आज बिजशालाले स्थानीय समाजमा फरक पहिचान बनाएकी अलिक फरक पात्रलाई उभ्याउने प्रयास गरेको छ । यो स्टोरी केही गर्न चाहने हरेक युवाहरुका लागि प्रेरणाको स्रोत बन्न सक्छ । 

कपाल काट्ने व्यवसाय अक्सर केटाहरुले गर्ने गर्छन् । तर, एउटी केटीले समाजमा चलिआएको चलनलाई तोड्दै केटाहरुको कपाल काटी राम्रो व्यवसायिक सफलता हात पारेको रोचक स्टोरी हो–सामपरी सलुन एण्ड स्पाकी सञ्चालक सम्झना परियारको । 

फरक व्यवसाय गरेको छोटो समयमै सफलताको सिँढी उक्लिरहेकी उनलाई धरानमा सम्झना परियारभन्दा पनि ‘सामपरी’को नामले चिन्नेहरु धेरै छन् । 
२६ वर्षीया परियार धरान १७ की स्थायी बासिन्दा हुन् । उनले १२ कक्षा मात्र अध्ययन गरेकी छिन् भने उनको नयाँ उद्यम भने निकै लोभलाग्दो र रोचक छ । उनी धरानमा हेयर स्टाइलिष्ट र मोडलका रुपमा समेत चिनिन्छन् ।

व्यवसाय नयाँ ढंगले गरे छोटो समयमै छलाङ मार्न सकिन्छ भन्ने एक आत्माविश्वासी महिला उद्यमीको परिचय समेत उनले बनाएकी छिन् ।

निरन्तरको लगन र केही फरक काम गर्ने पृथक शैलीका कारण सामपरीको सैलुन व्यवसायले फड्को मारिरहेको छ । 

नेपालबाट कमाउनैका लागि खाडीमा जस्तोसुकै काम गर्न तयार भई विदेशिने युवाहरुको संख्या कम छैन । तर, स्वदेशमै बसेर पनि चलिरहेको उद्यममा नयाँपन दिन सके र अरुभन्दा केही फरक सोच्न सके यहीँ पनि प्रशस्त संभावना छ भन्ने कुराको ज्वलन्त उदाहरण हुन सामपरी अर्थात सम्झना परियार ।

मुम्बई पुगेर हेयर स्टाइलमा ६ महिने कोर्ष गरेकी सामपरीले सुरुवातमा भारतकै एनभीआइ सलुन एण्ड स्पामा १ वर्ष काम गरेर आफ्नो सीपलाई निखारिन् । उनले त्यहाँ(भारतमा) काम गर्दा मासिक १६ हजार भारु पारिश्रमिकको रुपमा पाउने गर्थिन ।

तालिम र कार्यानुभव संगाल्दै नेपाल आएकी उनले पुनः साथीहरुकै सल्लाहमा फोटोसुट गर्दै आफूलाई मोडलिङमा समेत होमिइन् । 

आकर्षक जीउडाल र मृदुभाषी सामपरी आत्मविश्वासी पनि छिन् । उनमा रंगकर्ममा केही गर्ने विशेष सौख छ । 

कोरियोग्राफर ललित राईले सैलुन खोल्न प्रोत्साहन गरेको सामपरीले बताइन् । आफूले सिकेको सीपलाई व्यवसायिक रुपमा अगाडि बढाएको र केटीले केटाहरुको कपाल काट्दा त्यस्तो व्यवसाय चल्नसक्ने जस्तो देखेर सामपरी सलुन एण्डा स्पा खोलेको उनको भनाइ छ ।

सात लाख नगद र बैंकबाट ८ लाख ऋण काढेर सैलुन व्यवसाय थालेकी उनले आफूले धेरै कमाउन नसकेता पनि धराने र पूर्वमा विभिन्न कार्यक्रममा आउने सेलिब्रेटीहरुको अपार माया पाइरहेको सुनाइन् ।

‘सुरुमा केटाको कपाल काट्ने सैलुन खोलेकोमा धेरैले आश्चर्य व्यक्त गर्थे ।’ उनले भनिन्–‘केटीले कपाल काट्ने ठाउँ छ रे भन्दै अचम्म मान्दै कपाल काट्नैका लागि इटहरी र बिराटनगरबाट समेत ग्राहक आउथे ।’

कपाल काटेको ३ सय रुपैयाँ लिने गरेकी उनले दैनिक २५ जनासम्मको कपाल काट्ने गर्छिन् । 

उसो त उनले ३ जना महिलाहरुलाई रोजगारी समेत दिएकी छिन् । उनको सैलुनमा केटासँगै केटीको समेत कपाल काट्ने भएकाले अरुलाई समेत रोजगारी दिएको उनी बताउँछिन् ।

सुरुवातीताका अचम्भित तरिकाले हेर्ने र शंकालु तरिकाले सोच्ने गरेका मानिसहरु अहिले सामान्य रुपमा नेपाली समाजले स्वीकार गरिसकेको सामपरीमा फुटबल खेलाडी, राष्ट्रिय सेलिब्रेटी, बैंकर र युवाहरु नै ग्राहक बनेर जाने गरेका छन् ।

छोरी मान्छेले केही गर्न सक्दैनन् भन्ने समाजको गलत मान्यतालाई तोड्ने चाहनाले नै केटाहरुको कपाल काट्ने सैलुन खोलेर समाजमा नयाँ अध्याय सुरु गरेको उनले बिजशालासँग बताइन ।

धरानस्थित सिद्धार्थ बैंकका शाखा प्रबन्धक समेत रहेका सामपरीका नियमित सेवाग्राही दीपक थापाका अनुसार सलुनमा राम्रो सेवासुविधा रहेको र युवा उद्यमीको रुपमा सामपरीले उदाहरणीय काम गरेकी छिन् ।

भारतमा हुँदा नै सैलुन खोल्ने सोंच बनाएकी सामपरी सुरुवाती ४/५ महिना घाटामा व्यवसाय चलाउनु परेता पनि त्यसपछि भने सलुन घाटामा छैन । 
गत असोजमा सामपरीले १ वर्षको सक्सेस पार्टीमा हेयर एण्ड फेसन शो समेत गर्न भ्याइसकेकी छिन् । 

पूर्वाञ्चलमै केटाको कपाल काट्ने महिला हेयर डिजाइनरको रुपमा आफू पहिलो पात्र भएको उनको दाबी छ । 

गतवर्ष १ दिने महिला फुटबल टुर्नामेन्टमा स्पोन्सर गर्न पाउँदा जिन्दगीकै खुशीको अविष्मरणीय क्षण रहेको उनले सम्झिइन् ।

आफूले गरेको आम्दानीको केही हिस्सा समाजसेवामा समेत लगाउने सोंच रहेको सामपरीले बताइन् । आफ्नो सैलुनको फ्रेञ्चाइजे खोल्ने र फिल्ममा कलाकार हुने योजना समेत रहेको उनले सुनाइन् ।

आफूले चाहेको काम गरे सफल हुन सकिन्छ भन्ने मान्यता राखेकी सामपरी केटाले गर्ने काम पनि केटीले गर्नसक्छन र केटाले मात्र गर्नुपर्छ भन्ने सोंच हटाउनुपर्ने धारणा राख्छिन् ।

जीवन अत्यन्तै सुन्दर बनाउनमा आफ्नै हात हुने भएकाले भरपूर आनन्दले जीवन बिताउने आफ्नो उद्देश्य रहेको समेत उनले बताइन ।

कमाउन र बाँच्नकैका लागि खाडीको तातो घाममा रगतपसिना बगाउन तयार युवाहरुले पनि सामपरीले झै फरक सोची कुनै न कुनै व्यवसाय संचालन गर्न सके सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’को परिकल्पना पूरा हुन होस्टेमा हैसै हुने थियो ।