काठमाण्डौ । ‘निर्वाचनलाई माध्यम बनाएर तानाशाही खडा गरिँदैछ । हिटलर पनि निर्वाचनबाटै आएका थिए, कुनै राजघरानाबाट आएका थिएनन् उनी ।’ प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले वचनको तीखो वाण सत्तापक्षलाई हानिरहँदा सबै सांसद उत्सुक भएर सुनिरहेका थिए । चोटिला कुराहरुमा एमाले सांसदले टेबल ठोकेर समर्थन जनाइरहेका थिए भने सत्तासीन दलका सांसद समेत उनको रसिला कुरामा मनोरञ्जन लिइरहेका जस्ता देखिन्थे ।

अध्यक्ष ओलीले पटक–पटक कांग्रेस र माओवादीमाथि प्रहार गर्दै उनीहरुले एमालेको बिषयमा भए–नभएको भ्रम फैलाएको आरोप लगाएका थिए । एमालेलाई मधेशविरोधी भनेर भ्रमपूर्ण प्रचार गरिएको दाबी गर्दै उनले यस्तो खेलमा नलाग्न सत्तापक्षलाई आग्रह गरेका थिए । 

ठूला दलका नेताहरुबीच रस्साकस्सी चलिरहेकै थियो । ओलीको लामो भाषणलाई देउवाले छोटो भाषण गरी खण्डन गरे । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री पुुष्पकमल दाहालले समेत ओलीलाई काउण्टर दिए । यो दृश्य थियो मंगलबारको संसद बैठकको। 

नेताहरुबीचको वाकयुद्धले रमाइलो मोड लिइरहेको बेला एक नेता चाहि अघिल्लो पंक्तिमा मस्त निदाइरहेका थिए । ती नेता थिए फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार । प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिको बीचमा बसेका गच्छदार निकै लामो समयसम्म निदाएका देखिन्थे । टेलिभिजनको प्रत्यक्षप्रसारणमा क्यामेरामेनहरुले समेत यो दृश्यलाई प्राथमिकतामा साथ खिचेका थिए । 

नेताहरुबीच गम्भीर बिषयमा तर्कवितर्क भइरहँदा गच्छदार चाहि किन निदाएका होलान् ? त्यो उनैले जानून् । तर, देउवा सरकारका एक सारथी, मधेशको एउटा ठूलो दलका प्रमुख नेता मधेशकै मुद्धाको बिषयमा चर्काचर्की भइरहेको संसद बैठकमा जिम्मेवार रुपमा प्रस्तुुत हुनुुुपर्नेमा निदाइरहेको यो दृश्य अनौठो र अपाच्य थियो । गच्छदारलाई कुनै स्वास्थ्य समस्याले यस्तो भएको हो भने उनले चाँडा उपचार गर्नुपर्छ, होइन भने जनताले निर्वाचित गरेर संसदमा पठाएको यसरी निदाउनलाई होइन । कि कसो ?