काठमाण्डौ । कोरोनाभाइरस संक्रमणको ‘कम्युनिटी ट्रान्समिसन’ को संघारमा पुग्ने केरल भारतको पहिलो राज्य बनेको छ। यही कम्युनिटी ट्रान्समिसनको डरले केरलमा सोमबार बिहानदेखि लागू हुने गरी पुनः लकडाउन जारी गरिएको छ। 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केरल सरकारले राजधानी तिरुवनन्तपुरममा एक साता लामो लकडाउन पुनः जारी गरेको हो। राज्यका स्वास्थ्यमन्त्री के–के शैलजाले अहिले नै कम्युनिटी ट्रान्समिसन सुरु भएको भन्ने अवस्था नरहे पनि यो अवस्थाको निकै नजिक पुगेको बताएका छन्। ‘हामीले केही यस्ता संक्रमित फेला परेका छौँ, जसको न ट्राभल हिस्ट्री छ न त कुनै संक्रमितसँगको सम्पर्कमै थिए’, उनले भने, ‘पछिल्लो समय यस्ता दुई–तीनवटा मामिला दैनिकजसो फेला परिरहेका छौँ।’

यो महामारीलाई ध्यानमा राखेर केरल राज्यले सुरक्षा दिशानिर्देश पूरै एक वर्षसम्म लागू गर्ने निर्णय पनि गरेको छ। यो दिशानिर्देशबमोजिम अब केरलमा सार्वजनिक स्थानमा हिँडडुल गर्दा अबको एक वर्षसम्म मास्क अनिवार्य लगाउनुपर्ने भएको छ।

यदि राज्यले तयार पारेको दिशानिर्देश उल्लंघन गरेमा १० हजारसम्म जरिवाना र २ वर्षसम्म जेल सजायको पनि व्यवस्था गरिएको छ। 

केरल राज्यको नयाँ दिशानिर्देशकअनुसार काम गर्ने स्थानमा मास्क अनिवार्य लगाउनुपर्ने र ६ फिटको दूरी कायम गर्नुपर्नेछ। 

यसैगरी विवाह, भोजलगायतका समारोहमा बढीमा ५० जना तथा अन्तिम संस्कारमा केवल २० जनासम्म मानिस सहभागी हुन पाउनेछन्। कुनै पनि धर्ना, प्रदर्शनलगायतका गतिविधिका लागि प्रशासनको अनुमति लिनुपर्नेछ भने १० जनाभन्दा बढी सहभागी हुन पाइने छैन। 

अब कुनै पनि पसल वा अन्य व्यापारिक प्रतिष्ठानमा २५ भन्दा बढी मानिस जान सक्ने छैनन्। यस्ता सबै पसलहरुमा सेनिटाइजर उपलब्ध हुनुपर्नेछ ता कि ग्राहक हात सफा गरेरमात्र प्रवेश गर्न सकून्। 

केरल राज्यले सार्वजनिक स्थानमा थुक्नका लागि कडा प्रतिबन्ध लगाएको छ। – एजेन्सी