काठमाण्डौ । चीनका राष्ट्रपति सी चिनपिङले नेपाललाई भूपरिवेष्‍टित देशबाट भूजडित देश बन्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिवारदेखि सुरु भएको नेपालको दुईदिने राजकीय भ्रमणको क्रममा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा उनको सम्मानमा आयोजना गरेको रात्रिभोजअघि सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सीले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

उनले चीन नेपाल सीमापार रेलमार्गको संभाव्यता अध्ययनको काम समेत सुरु हुने घोषणा गरेका छन् । उनले केरुङदेखि काठमाण्डौंसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउन समेत चीन सक्रिय बन्ने वचन दिएका छन् । 

‘बढीभन्दा बढी नाकाहरू खोली हिमाल वारपार बहुआयामिक सञ्जालको निर्माण गर्नेछौँ र नेपालको भूपरिवेष्टित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौँ।’ सम्बोधनको क्रममा उनले भने । 

उनले नेपाल र चीनबीच मित्रता बाहेक अन्य समस्या नरहेको उल्लेख गर्दै भने–‘वर्तमान अवस्थामा आत्मरक्षावाद, एकलवाद र प्रभुत्ववाद धेरै व्याप्त छ, हामीले बहुलवाद र आर्थिक भूमण्डलीकरणलाई समर्थन गर्नुपर्छ। जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ। जलवायु परिवर्तन सम्बन्धी वार्ताहरूमा नेपाली पक्षको उपयुक्त मागलाई हामी पनि समर्थन गर्दछौँ। नेपाली पक्षका साथ हामी जलवायु परिवर्तनको सम्बोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाइ हाम्रो साझा गृहस्थल पृथ्वी विशेषगरि सगरमाथा हिमालय क्षेत्रको रक्षा गर्न सदा तत्पर रहनेछौँ।’

सम्बोधनको क्रममा उनले आफ्नो नेपाल भ्रमणका क्रममा नेपाल र चीनको साझा खाका बनाउन सकेको समेत दाबी गरे ।

रात्रिभोजअघि शनिवार साँझ राष्ट्रपति भवन शीतल निवासमा सी र भण्डारीबीच द्विपक्षीय भेटवार्ता भएको थियो।

सो भेटवार्तामा नेपालका मन्त्रीहरू तथा चीन र नेपालका उच्च अधिकारीहरू पनि सहभागी रहेका शितल निवासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सन् सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको दुईदिने भ्रमण गरेका थिए। त्यसपछि कुनै पनि चिनियाँ राष्ट्रपति नेपाल आएका थिएनन् ।