काठमाण्डौ । कुनै एक व्यक्तिले ८ हजार रुपैयाँ पैसा खर्च गरेर करोडौंको कार खरीद गर्यो भन्दा तपाई पत्याउनुुहुन्छ ? सायद पत्याउनुहुन्न । तर, एक व्यक्तिले यही असंभवजस्तो लाग्ने कामलाई संभव बनाएर देखाएका छन् । यी व्यक्तिले हालै नेपाली २ करोडभन्दा बढी रकम खर्च गरी कार खरीद गरेका छन्, जसको चर्चा अहिले विश्वभर भइरहेको छ । 

हामी यहाँ अमेरिकाका एक व्यक्ति पिटर सेण्डिङ्टनको बिषयमा बताइरहेका छौ । सिएनबिसीको एक रिपोर्ट अनुसार यी व्यक्तिले सन् २०११ मा अध्ययनको सिलसिलामा भर्चुअल करेन्सी बिटक्वाइनमा ११५ डलर, अर्थात करिब नेपाली ८ हजार रुपैयाँ लगानी गरेका थिए । उनले हालै त्योबेला खरीद गरेको बिटक्वाइन बिक्री गरी यस्तो कार खरीद गरेका छन्, जसको मूल्य २ करोडभन्दा माथि छ ।

सेण्डिङ्टनले बताएअनुसार उनले करिब ७ वर्षअघि बिटक्वाइनमा ११५ डलर लगानी गरेका थिए । यी व्यक्ति इन्टरनेटको दुनियाँमा तब चर्चाको पात्र बने, जब उनले २ लाख डलर पर्ने लेग्बोगिर्नीको शानदार कार खरीद गरे । यो कारलाई विश्वभरका अर्बपतिहरुको प्रिय कारको रुपमा चिनिन्छ । 

उनले फ्लोरिडाबाट कम्प्युटर साइन्सको अध्ययन पूरा गरेका छन् । त्यसपछि अमेरिकाकै जर्जियाबाट काउन्सिलिङ, एजूकेशन र टेक्नोलोजीमा मास्टर्स डिग्रीको उपाधि हासिल गरेका छन्।

सेण्डिङ्टनले नोभेम्बर, २०११ मा प्रति बिटक्वाइन २.२५ डलर लगानी गरेका थिए । हाल उनको साथमा कति बिटक्वाइन छ भन्ने बताइएको छैन । उनले कमसेकम १ हजार बिटक्वाइन सो बेला खरीद गरेका मानिन्छ । डिसेम्बरमा बिटक्वाइन आफ्नो सर्वाधिक उचाई १९ हजार डलरमा रहेको थियो । तर, हालसम्म यसको मूल्य घटेर ८ हजारसम्म झरिसकेको छ । तर, अहिलेकै भाउलाई आधार मान्दा समेत सेण्डिग्टनले बिटक्वाइनबाट ७ वर्षको अवधिमा ३२१००० प्रतिशतको रिटर्न प्राप्त गरेका देखिन्छ । उनले सिएनबिसीलाई भनेका छन्–‘म बिटक्वाइनको लंगटर्म होल्डर हुँ ।’ 

स्मरणरहोस्, नेपालमा बिटक्वाइनजस्ता  क्रिप्टोकरेन्सीको कारोबार प्रतिबन्धित छ । छिमेकी भारत, चीन लगायतमा समेत यस्ता करेन्सीको कारोबारमा कडाई गरिएको छ । यही कारण पछिल्लो समय बिटक्वाइनको मूल्यमा भारि गिरावट आएको मानिन्छ ।