काठमाण्डौ । धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीहरुलाई जेठ १ गतेदेखि नयाँ मापदण्ड अनुरुप केवाइसी अपडेट नगर्ने लगानीकर्ताहरुलाई सेयर कारोबारमा संलग्न नगराउन दिएको कडा निर्देशनले बजार चौपट भएको छ । 

नयाँ मापदण्डअनुसारको केवाइसी अनिवार्य गरिएको दिनमै बजार चौपट भई कारोबार रकमतर्फ भीषण पहिरो जानुले हालसम्म दोश्रो बजारमा कालोधनकै बोलवाला भइरहेको थियो कि भन्ने आशंका समेत जन्माइदिएको छ । 

धितोपत्र बोर्डले विगत २ महिनाअघिदेखि नै केवाइसी अपडेट गर्न र गराउन आग्रह तथा परिपत्र र निर्देशन जारी गरिरहेको थियो । २ महिने लामो समयदिएर बैशाख दोश्रो सातातिर मात्र उसले जेठ १ गतेदेखि केवाइसी अपडेट नगराउनेहरुले बजारमा सेयर कारोबार गर्न नसक्ने व्यवस्था लागू हुने प्रष्ट पारेको थियो । तर, पटक पटकका समयसीमा दिंदा समेत सेयर बजारमा लगानी गर्नेहरुले केवाइसी अपडेट गर्ने हतारो नदेखाउनुले बजारमा कालोधनको बर्चश्व रहेको र धेरै लगानीकर्ता केवाइसी अपडेट गराउन छाडेर बजारबाटै भागेका हुन् कि भन्ने आशंका समेत जन्माइदिएको छ । 

एक विश्लेषकले २ महिनाअघिदेखि नै केवाइसी अपडेट गराउने सूचना जारी भए पनि नगराउनु र केवाइसी अपडेट गरेकाहरुले मात्र कारोबार गर्न पाउने नियम लागू भएको पहिलो दिनमै कारोबारमा चौपट अवस्था आउनुले बजारमा कस्तो लगानी रहेछ भन्ने देखाउने दाबी गरेका छन् । उनले नाम उल्लेख नगर्ने शर्तमा भने–‘हामीले बारम्बार सेयर बजारमा कालोधन भित्रिएको छ भन्ने कुरा गरिरहेका थियौ । आज आएर त्यो सत्यनिकट देखिएको छ । सरकारले तत्काल छानबिन थाल्नुपर्छ ।’ 

एक ब्रोकरले केवाइसीको मनोवैज्ञानिक त्रासले चाहि कारोबार घटेर चौपट भएको बताए । ‘कतिपय लगानीकर्ता केवाइसी अपडेट गराउने बेलामा सुतेर पनि बसे होलान् ।’ उनले थपे–‘मनोवैज्ञानिक त्रासका कारण बजारको यो अवस्था यो सातासम्म रहला ।’

त्यसो त यो दिन कारोबार रकममा गिरावट आउनु अर्को कारण बजेटको प्रतिक्षा पनि हो । सरकारले आगामी ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । यसको प्रतिक्षामा कतिपय लगानीकर्ता बस्दा समेत बजार घट्न सहयोग पुगेको केहीथरि विश्लेषक बताउँछन् । 

बजारमा के-के भयो ?
कारोबार रकम चौपट भएको दिन नेप्से परिसूचक भने ४.३२ अंकले घटेर १३३३.८५ को विन्दुमा सीमित बन्न पुगेको छ । यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स १.१५ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३४ अंकले गिरावट आयो ।

यो दिन उत्पादनमूलक समूहमा २८.१६ अंक तथा व्यापार समूहमा ५.४९ अंकको वृद्धि देखियो । अन्य सबै समूहमा रातो पोतियो । 

बैकिङ समूह ४.२८ अंकले घट्यो भने बिमा समूह १२.७६, माइक्रोफाइनान्स समूह ५.६२, विकास बैंक समूह १०.९६ र बित्त समूह १.३३ अंकले घट्यो । यस्तै, होटल समूहमा ३२.९५ अंक, जलविद्युत समूहमा १३.१४ अंक तथा अन्य समूहमा ०.५३ अंकको गिरावट देखियो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ४३ कम्पनीका ३ लाख १९ हजार २ सय ६० कित्ता सेयर १४ करोड ९२ लाख ३९ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भयो । कुनै पनि कम्पनीको कारोबार १ करोडको उचाईमा पुगेन । 

सबैभन्दा बढी मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ८६ लाख बढीको कारोबार गर्यो । प्रिमियर इन्स्योरेन्सले ५४ लाख ७३ हजार, गण्डकी विकास बैंकले ५२ लाख बढीको कारोबार गर्यो । राष्टिय बिमा कम्पनीको ४६ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा स्वालम्बन विकास बैंकले ४४ लाख, वोमी माइक्रोफाइनान्सले ४२ लाख, शिखर इन्स्योरेन्सले ४२ लाख, नेपाल लाइफले पनि ४२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन हिमालय डिस्टीलरीका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतको हाराहारीमा कमाए । उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले ६ प्रतिशतको हाराहारीमा कमाए ।

यो दिन जनउत्पादन सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।