काठमाण्डौ । अर्थतन्त्र सुधारउन्मुख रहेको र सेयर बजार समेत स्थिरताउन्मुख भएको भन्ने अर्थमन्त्रीको भनाई र आर्थिक समृद्धिको नारा बोकेको सरकारलाई दुईतिहाई बढीको समर्थन लगायतका कारणले एकाएक उछालको गतिमा दौडिएको बजार केही घटेर पुनः बढ्न थालेको छ । 

दिउँसो २ बजेसम्ममा नेप्से परिसूचक केही घटेर पुनः बढी १७.४९ अंकले वृद्धि भएको हो । नेप्से परिसूचक १३१८ नजिक हुँदा कारोबार रकम पनि २९ करोड आसपास पुगेको छ ।

उत्पादनमूलक बाहेक सबै समूहको सूचक बढेका छन् । बैंकिंग, विकास बैंक, जलविद्युत र अन्य समूहको सूचक १ प्रतिशत भन्दा बढीले वृद्धि भएका छन् । बिमा, माइक्रोफाइनान्स र अन्य समूह करिब २ प्रतिशतले बढेका देखिएको छ । 

बजारमा ‘क’ वर्गका कम्पनीहरुमा खरीद चाप बढेको छ । २ बजेसम्म सिटिन्जस बैंक इन्टरनेशनलले सबैभन्दा बढी ५ करोड ६ लाख बढीको कारोबार गरिसकेको छ । ग्लोबल आइएमई बैंकले समेत १ करोड ११ लाख भन्दा बढीको कारोबार गरिसकेको छ । 

यो समाचार तयार पार्दासम्म मिथिला लघुवित्त विकास बैंकको सेयर मूल्य सबैभन्दा बढी बढेको देखिएको छ । सबैभन्दा धेरै गुमाउनेमा मेगा बैंकका लगानीकर्ता रहेका छन् ।