काठमाडौँ । कुनै पनि व्यवसाय सञ्चालनमा गर्न धेरै कुराले साथ दिएको हुनुपर्ने मान्यता राखिन्छ । तर मुख्यतया चार पक्ष ‘फोर एम’को सफल व्यवस्थापन गर्न सकियो भने व्यवसायिक सफलता प्राप्त गर्न सकिने कुरामा दुईमत छैन । व्यवसायिक सफलताका लागि ध्यान दिनुपर्ने महत्वपूर्ण चार चार पक्ष यस प्रकार छन् । 

म्यान अर्थात् जनशक्ति
व्यवसाय आफै हुँदैन । यसको सञ्चालनका लागि जनशक्ति को आवश्यकता पर्दछ । जनशक्तिले व्यवसाय त सञ्चालन होला तर सो व्यवसाय सफल नै हुन्छ भन्ने ग्यारेन्टी चाहिँ हुँदैन । तसर्थ सफल व्यवसाय सञ्चालन गर्नका लागि जनशक्तिको प्रबन्धका साथै सो मानव पूँजीको उचित परिचालनमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

मनी अर्थात् पैसा
व्यवसाय सफल गराउनका लागि इच्छाशक्ति र जनशक्ति  मात्र भएर पनि पुग्दैन । यसका लागि आवश्यक पूँजी तथा कोषको पनि व्यवस्था गर्नुपर्ने हुन्छ । कुनै पनि व्यवसाय शूरु गर्नुभन्दा पहिले नै सो व्यवसायमा कति रकम लगानी गर्नुपर्ने हो र त्यसको व्यवस्थापन कसरी गर्दै जाने भन्ने निक्र्योल गर्नुपर्ने हुन्छ । जनशक्ति नभइ कुनै पनि काम हुँदैन भने विना पैसा कुनै पनि जनशक्तिले काम गर्दैन । यसका साथै व्यवसाय सञ्चालन गर्ने उद्यमीले बैंक तथा वित्तीय संस्थासँगको सम्बन्ध सुधार गर्न पनि प्रयत्न गर्नुपर्ने हुन्छ । यदि साझेदारीमा कुनै पनि उद्यम गरिएको हो भने साझेदारबीचमा पनि सबै कुरा खुलस्त र प्रष्ट हुनुपर्छ नत्र यसले अविश्वास पैदा गर्न सक्दछ । यसैगरी पैसाको स्रोत अथवा ग्राहकका मुद्दालाई पनि विशेष ध्यान दिने व्यवस्था गर्नुपर्छ । 

मटेरियल्स अर्थात् कच्चा पदार्थ
यसैगरी सफल व्यवसाय सञ्चालन गर्नका लागि अर्को महत्वपूर्ण पक्ष भनेको आवश्यक कच्चा तथा अन्य पदार्थ पनि हुन् । कच्चा पदार्थ , कार्यप्रगति, तयारी भएका वस्तु र सेवाजस्ता पक्ष पनि व्यवसायको निर्णायक पक्ष हुन् । यी पक्षको व्यवस्थापनमा पनि उतिकै जोड दिएर व्यवसाय गर्दा असफल हुने संभावना कमै हुन्छ ।

मेशीनरी 
अहिलेको समय सूचना तथा प्रविधिको भरपूर उपयोग गर्ने समय हो । कुनै पनि व्यवसया पछिल्लो समय विकसित प्रविधिको प्रयोग नगरुन्जेल सफल हुन अबका दिनमा धेरै गाह्रो छ । अब मानिसले धेरै शारीरिक बोझ हुन खालका काम कम गर्दै लगेको छ । धेरै शारीरिक श्रम पर्ने खालका काम अब मेशीनबाट हुन थालेको छ । मानिसको जीवनशैली नै यान्त्रिक बन्दै गएको अवस्थामा चुस्तदुरुस्त मेशीनको व्यवस्था विना काम तथा कुनै व्यवसाय सफल बन्न सक्दैन । 


जनशक्तिमा निकै चनाखो हुने तर मेशीनको अवस्थाका बारेका खासै ध्यान केन्द्रित नगर्ने   धेरै व्यवस्थापकको बानी हुन्छ । तर मानिसले मात्र अब काम गर्न सक्दैन, अबको व्यवसायमा मेशीनको स्वास्थ्य पनि उतिकै महत्वपूर्ण पक्ष हो ।

यी चारै पक्षमा उतिकै ध्यानकेन्द्रित गर्न सके व्यवसाय सफल बन्न सक्दछ ।