-ह्यू स्कोफिलबीबीसी न्यूज, प्यारिस

के यो साँचो हुनसक्छ कि फ्रान्समा मक्खनको अभाव भइरहेको छ? के जर्मनीपछि युरोपमा सबैभन्दा बढी दूधजन्य वस्तुको उत्पादन गर्ने देश आफ्ना घरधुरीलाई दैनिक भोजनको आधारभूत वस्तु उपलब्ध गराउन असमर्थ भइरहेको छ?

जवाफः हो पनि…र होइन पनि।

होः खासमा फ्रान्सेली पसलहरुमा मक्खनको अभाव छ। दराजहरु रित्तिदैछन्।

सुपरमार्केटका ब्राण्डहरुको अभाव भइरहेको छ र निकै महँगो मूल्यका मक्खन मात्रै पाइरहेको छ।

समस्या

एउटा स्थानीय सुपरमार्केटमा यस्तो लेखेर बोर्ड झुण्ड्याइएको छ- "कच्चा पदार्थको कमीले मक्खन बजारले अभूतपूर्व अभावको सामना गरिरहेको छ जसका कारण यो सुपरमार्केटले आपूर्तिमा समस्या झेल्नुपरेको छ।"

मक्खनको अभाव छैन। यदि तपाईँलाई चाहिन्छ भने तपाईँले पाउन सक्नुहुन्छ तर यो कुरा सबैलाई थाहा छ कि जसरी काम गर्नुपर्ने हो प्रणालीले त्यसरी काम गरिरहेको छैन। केही कुरा मिलिरहेको छैन।

त्यसका पछाडि अनेकौं कारण रहेको विज्ञहरु बताउँछन्।

अन्तर्राष्ट्रिय बजारमा मक्खनको माग निकै बढेको छ।

 

मक्खन

चिनियाँहरुले पश्चिमाहरुको पेस्ट्री खुब मन पराउन थालेका छन् जसका लागि मक्खन नभई हुँदैन।

त्यही बेला युरोपेली र अमेरिकी उपभोक्ताहरुले फेरि मक्खनको उपभोग गर्न थालेका छन्।

कुनैबेला जनावरहरुबाट प्राप्त हुने घ्यु नराम्रो ठानिन्थ्यो तर अहिले परिस्थिति फेरिएको छ।

अहिले मान्छेहरु चिनी नराम्रो भन्छन्।

आपूर्ति

मक्खन फेरि पुनर्स्थापित भएको छ र हामी गर्वका साथ खानेकुरामा मक्खन प्रयोग गर्नसक्छौँ।

विश्व बजारमा मक्खनको माग बढिरहेका बेला आपूर्ति चाहिँ घटिरहेको छ।

युरोपको 'मिल्क मार्केट अब्जरभेटरी' का अनुसार विश्वमै सबैभन्दा बढी दूधजन्य उत्पादन गर्ने न्युजिल्याण्डको निर्यातमा ज्यानुअरीदेखि अगष्ट महिनासम्ममा पछिल्लो वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशतले कमी आएको छ।

र, युरोपेली संघभित्र केही निश्चित समस्याहरु छन्।

सन् २०१५ मा दूधसम्बन्धी कोटा अन्त्य भएपछि तत्काल डेरी उत्पादनहरु गर्नुपर्ने अवस्था सिर्जना भयो।

तर त्यसले दूधको मूल्य भताभुङ्ग बनायो जसका कारण कतिपय उत्पादकहरु बजारबाट बाहिरिए।

खराब मौसमबारे पनि प्रश्न उठाइएका छन्- गाईवस्तुका आहारा उत्पादनको दृष्टिकोणले सन् २०१६ मा राम्रो मौसम भएन जसका कारण सन् २०१७ मा दूध उत्पादन कम हुन पुग्यो।

मक्खनको बढ्दो माग र घट्दो आपूर्तिको परिणाम स्पष्ट छ।

प्रणाली

पछिल्लो डेढ वर्षमा मक्खनको मूल्य निकै बढेको छ।

सन् २०१६ को एप्रिलमा प्रति टन २५ सय युरो मूल्य रहेको मक्खनको भाउ सन् २०१७ को सेप्टेम्बरमा पुग्दा ६५ सय यूरो पुगेको छ।

तर यी पक्ष नितान्त रुपमा फ्रान्ससँग मात्रै जोडिएका छैनन्।

बजारमा आएका परिवर्तनको असर सबै देशले झेल्नुपर्ने हुन्छ।

फ्रान्स मात्रै किन जहाँका र्‍याकहरुमा हामीले खाली ठाउँ देख्छौँ?

यसको सरल जवाफ छ- मूल्य र वितरणसम्बन्धी फ्रान्सको कडा प्रणाली।

जर्मनी जस्ता अरु देशका सुपरमार्केटहरुले मूल्य बढाएर मक्खनको बदलिँदो विश्व बजारप्रति प्रतिक्रिया जनाएका छन्।

 

मक्खन

तर फ्रान्समा पसलेहरुका लागि मक्खनको मूल्यमा खासै परिवर्तन आएको छैन।

फ्रान्समा सुपरमार्केट र उत्पादकहरुबीचको छलफलपछि हरेक वर्ष मक्खनको मूल्य निर्धारण हुन्छ।

निर्धारण

अर्को चरणको छलफल फेब्रुअरीअघि हुनेछैन।

उक्त पृष्ठभूमिमा सुपरमार्केटहरुले नौ महिनाअघि सस्तो मूल्य भएको बेला निर्धारण गरिएको दरमा मक्खनको विक्री गरिरहेका छन्।

फ्रान्सेली उत्पादकहरु मूर्ख चाहिँ छैनन्।

मक्खनको विश्व बजार घरेलु बजारभन्दा आकर्षक छ भनेर उनीहरुलाई थाहा छ।

उनीहरुले स्थानीय सुपरमार्केटलाई 'नाइँ' भन्दै आफ्ना उत्पादन विदेशमा बेच्न थालेका छन्।

अतः के फ्रान्समा मक्खनको अभाव छ? भन्ने प्रश्नको जवाफ हो- छ पनि र छैन पनि।

होइन, मक्खनको अभाव छैन। फ्रान्स आफैँले पर्याप्त मक्खन उत्पादन गर्छ।

तर मक्खन घरधुरीहरुले अपेक्षा गरेको ठाउँभन्दा अन्यत्र पनि जान थालेको छ। यसकारण 'हो' फ्रान्समा मक्खनको अभाव छ।

-बीबीसीबाट साभार