काठमाण्डौ । सचिवालयमा कार्यरतहरुलाई मंसिर १ गतेदेखि लागू हुने गरी राजीनामा गर्न सुझाव दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि हटाउँदैछन् ? वा, सचिवालयपछि सामूहिक राजीनामाको पालो मन्त्रीहरुको आउनेछ । त्यसपछि पुनर्गठित हुने क्याबिनेटमा अर्थमन्त्री डा. खतिवडालाई ओलीले दोहोर्याउँछन् कि दोहोर्याउँदैनन् ? आर्थिक वृत्त र विशेष गरी सेयर बजारमा सहभागीहरुको दिमागमा यिनै प्रश्नले गोलचक्कर लगाइरहेको छ हिजोआज । 

प्रधानमन्त्री निकट स्रोतहरुका अनुसार डा. युवराज खतिवडाको अर्थमन्त्रीको रुपमा दोहोरिने संभावना निकै न्यून छ । कारण, प्रधानमन्त्री ओली डा. खतिवडाको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । उनले विशेष गरी लगानीकर्ताहरुको नजरमा बनाएको सरकारको धूमिल छविका कारण पछिल्लो समय डा. खतिवडालाई नदोहोर्याउने मूडमा छन् ओली । डा. खतिवडालाई नदोहोर्याउने निर्णयमा पुग्दा ओलीका लागि सहज पनि छ, कारण उनी राजनीतिक पृष्ठभूमिबाट आएका होइनन्, ओलीले विष्णु रिमालको जोडबलमा टिपेर ल्याएका हुन् । राष्ट्रियसभाको सदस्यको उनको कार्यकाल समेत सकिनै लागेका कारण डा. खतिवडालाई विदाई गर्ने तयारी भइरहेको उच्च स्रोतहरुले दाबी गरेका छन्। 

उसो भए नयाँ अर्थमन्त्रीको रुपमा को आउला त ? स्रोतहरुले दुईवटा नाम संभावित अर्थमन्त्रीको रुपमा अगाडि सारेका छन् । त्यसमध्येको एउटा नाम हो प्रदीप ज्ञवाली र अर्को नाम हो सुरेन्द्र पाण्डे । ज्ञवाली अहिले समेत ओली नेतृत्वको मन्त्रीमण्डलमा छन् । ओलीले उनलाई पुनर्गठनपछि बन्ने आगामी क्याबिनेटमा समेत सामेल गर्नेछन् । सो बेलामा मन्त्रालय हेरफेर हुनेछ र ज्ञवालीले अर्थमन्त्रालयमा आफ्नो पुरानो दाबीलाई यसपटक कार्यान्वयनमा ल्याउने सफलता पाउन सक्छन् । 

तर, पार्टीभित्रकै सन्तुलनलाई मिलाउनका लागि र नेकपाका अर्का अध्यक्ष प्रचण्डको समेत दवाब परेको खण्डमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे अबको नयाँ अर्थमन्त्री बन्नेछन् । 

पाण्डे पछिल्लो समय प्रचण्डको प्रिय पात्र हुन् । पूर्व एमालेवृत्तमै पनि उनी माधव नेपाल समूहका खास मान्छेको रुपमा चिनिन्छन् । ओलीका पछिल्ला कतिपय निर्णय र कामका कारण चिढिएको नेपाल समूहलाई ट्रयाकमा ल्याउन र अर्का अध्यक्ष प्रचण्डको बचन राखिदिने निश्कर्षमा ओली पुगे भने सुरेन्द्र पाण्डे अर्थमन्त्रीको रुपमा पुनः उदाउने स्रोतहरुले दाबी गरेका छन् । 

नेपालको सेयर बजार तथा लगानीकर्ताहरुले सुरेन्द्र पाण्डेलाई अर्थमन्त्रीको रुपमा पुनः उदाएको हेर्न चाहेका छन् । पाण्डे अर्थमन्त्री भए लगानीकर्ताहरुको पीरमर्काको उचित सम्बोधन हुने र यसले सेयर बजार तथा लगानीका अन्य क्षेत्र समेत लयमा फर्किने कतिपयको विश्लेषण छ ।

पछिल्लो समय व्यवसायिक वातावरण डामाडोल बनाई उद्योग गर्नेहरुलाई सकसमा पार्ने गरी गलत आर्थिक नीति लिएपछि निजी क्षेत्र समेत अर्थमन्त्री डा. खतिवडाप्रति सकारात्मक छैन । निजी क्षेत्रबाट समेत निकै लामो समयदेखि नै खतिवडालाई विदा गर्नुपर्ने दवाब प्रधानमन्त्रीमा परिरहेको छ । 

कुनै महत्वपूर्ण आर्थिक नीतिको विषयमा निर्णय गर्दा मन्त्रालयका सचिव, सरकार निकटका विज्ञका कुरा समेत नसुनी आफ्नै जिद्धीलाई कार्यान्वयनमा ल्याउने बानीका कारण खतिवडाबाट धेरै रुष्ट छन् । प्रधानमन्त्री ओली समेत खतिवडालाई काम गर्ने समय र स्थान दिए पनि उनको भूमिकाबाट सरकारलाई कुनै फाइदा नभएको, बरु उनकै गलत नीतिका कारण सरकार समस्यामा परेको बुझाईमा रहेका सचिवालयका एक सदस्यले बताए ।

अर्थतन्त्रको सुधारका लागि आज गरिएको कामको रिजल्ट भोलि नै आउदैन भन्ने तर्कका आधारमा प्रधानमन्त्रीले केही समय डा. खतिवडालाई मौका दिनुभएकै हो । सचिवालयका ती सदस्यले भने ः तर, डा. खतिवडाले पार्टीको नीति र छविमै समेत गम्भीर धक्का लाग्ने गरी काम गरे । पार्टीको भविष्यप्रति ख्यालै नगरी आफ्नो मात्र जिद्धीमा लागिरहे । 

त्यसो त अर्थमन्त्री डा. खतिवडालाई ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालको एकल जोडबलमा ल्याइएको थियो । पछिल्लो समय विष्णु रिमाललाई नै प्रमुख सल्लाहकारबाट हटाउने ओलीको तयारी छ । रिमालले ओलीलाई गलत सल्लाह दिने गरेका गम्भीर आरोप पार्टीभित्रैबाट लाग्दै आएको छ । ओलीले रिमाललाई प्रमुख सल्लाहकारको रुपमा दोहोर्याउन चाहनेन् भने अर्थमन्त्रीको रुपमा डा. खतिवडा पुनः आउनै नसक्ने स्रोत दाबी गर्छ । 

कुन कुन मन्त्री दोहोरिएलान् ?
राम्रा काम गर्ने केही सीमित मन्त्रीहरुलाई मात्र दोहोर्याउने प्रधानमन्त्री ओली र सत्तासीन नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच गोप्य सहमति भइसकेको छ । 

मन्त्रीको रुपमा नदोहोरिने सूचिमा प्रचण्डकी बुहारी बिना मगर, मन्त्रीहरु रघुवीर महासेठ, लालबाबु पण्डित लगायतको नाम अगाडि छ । 

गोकुल बास्कोटालाई पनि दोहोर्याउन नहुने पार्टीभित्रैबाट तीव्र दवाब आइरहे पनि ओलीले उनलाई दोहोर्याउनसक्ने संभावना छ । 

वर्षमान पुनलाई समेत दोहोर्याउन नहुने र उनको ठाउँमा जनार्दन शर्मा वा पम्फा भूसाललाई ल्याउनुपर्ने प्रचण्डलाई पार्टीभित्रैबाट दवाब परिरहेको छ । 

गृहमन्त्रीको रुपमा रामबहादुर थापा(बादल), रक्षामन्त्रीको रुपमा ईश्वर पोखरेल, श्रममन्त्रीको रुपमा गोकर्ण बिष्ट लगायतका अनुहार दोहोरिन सक्छन् । 
बाँकी रहेका अन्य मन्त्रीहरुमध्ये अधिकांश नदोहोरिने स्रोत दाबी गर्छ । 

ओलीले राज्यमन्त्रीहरुलाई समेत विदा गरेर नयाँ अनुहारलाई अवसर दिन खोजेका छन् । 

बिरामले च्याप्दै लगे पनि ओली पछिल्लो समय सक्रिय छन् । परिणाम दिने खालको काम गर्ने जोशिला युवा नेताहरुलाई प्रतिबद्धतासहित उनले मन्त्रीको रुपमा भित्र्याउन लागेका छन् । 

स्रोतहरुका अनुसार मंसिर पहिलो सातासम्ममा पुराना मन्त्रीहरुको सामूहिक राजीनामा र मन्त्रीमण्डल पुनर्गठनको घटना हुनसक्छ ।