काठमाण्डौ । एनआइसी एशिया बैंकले कैलाली र कञ्चनपुरमा हावाहुरी पीडित परिवारको पुनस्र्थापनाका लागि २ लाख रुपैयाँ सहयोग गरेको छ । 

जेठ २३ गते आएको हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति भएको थियो । सोही प्रकोपबाट पीडितहरुको पुनस्र्थापना कार्यमा सघाउने उद्देश्यले बैंकले धनगढी उप–महानगरपालिका प्रकोप व्यवस्थापन कोषमा सहयोग स्वरुप दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

सहयोगको चेक एनआइसी एशिया बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख टेकराज भट्टले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर ओडलाई हस्तान्तरण गरे ।

यो सहयोगबाट हावाहुरी पीडित क्षेत्रका परिवारलाई सहयोग पुग्ने भन्दै यस किसिमको सहयोग आगामी दिनमा पनि कायम रहने विश्वास धनगढी उप–महानगरपालिकाका प्रमुख ओडले व्यक्त गरेका थिए । 

हाल यो बैंकको देशभर २८५ शाखा, २९५ एटीएम, ४६ एक्सटेन्सन काउण्टर र ३७ वटा शाखारहित बैंकिङ इकाईको वृहत सञ्जाल रहेको छ । बैंकमा करिब १६ लाख ग्राहक रहेका छन् ।