काठमाण्डौ । कोरोना संक्रमणको उच्च जोखिम देखिएका र संक्रमित भेटिएका तीन जिल्लामा सरकारले द्रूत गतिमा स्वास्थ्य परीक्षणको काम थाल्ने भएको छ । 

शनिवार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। 

उनका अनुसार सरकारले कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड टेस्ट(द्रूत गतिको स्वास्थ्य जाँच)को प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । 

बैठकले यी तीन जिल्लामा द्रूत गतिमा स्वास्थ्य परीक्षण गर्ने र कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको हो । 

तर, द्रूत गतिमा टेस्ट गर्ने निर्णय गरिए पनि त्यसका लागि आवश्यक गुणस्तरीय किट तथा अन्य स्वास्थ्य उपकरणको व्यवस्थापन कसरी मिलाइन्छ भन्ने विषयमा चाहि सरकारका प्रवक्ताले केही पनि बताएका छैनन् । 

सरकारले यसअघि ओम्नी इन्टरनेशनलसँग सम्झौता गरी चीनबाट ७५ हजार थान र्यापिड टेस्ट किट ल्याए पनि ती गुणस्तरहीन(नक्कली) रहेपछि स्वास्थ्य सेवा विभागको गोदामा थन्काइएको छ ।