काठमाण्डौ । काठमाण्डौ महानगरपालिका वडा नं. ३२ को कोटेश्वरस्थित असर्फी टोलमा किराना पसल सञ्चालकबाट उपभोक्ताहरुमा कोरोना फैलिएको खुलासा भएको छ।

असर्फी टोलमा हालसम्म १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये किराना पसल सञ्चालक चारजना र बाँकी पसलमा सामान किन्न आउने उपभोक्ता छन्। 

गत साउन १८ गते पसल सञ्चालकमा कोरोना पुष्टि भएपछि आसपासका घरहरुमा बसोबास गर्ने १४० जना मानिस स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। ती अधिकांश त्यही किराना पसलमा सामान किन्ने ग्राहक र तिनका परिवारका सदस्य छन्। 

तीमध्ये सोमबारसम्म १३ जनाको रिपोर्ट पोजेटिभ आएको वडा कार्यालयले जनाएको छ। उनीहरुमध्ये  १० जनालाई कीर्तिपुर र टेकु अस्पतालमा रहेका आइसोलेसनमा राखिएको छ। बाँकी तीनजनालाई घरमै छुट्टै कोठामा राखिएको छ।

अझै धेरैको रिपोर्ट आउन बाँकी रहेको यो संख्या थप बढ्न सक्ने वडा कार्यालयले जनाएको छ। 

एउटै टोलमा थुप्रै संक्रमित फेला परेपछि असर्फी टोल सिल गरिएको छ।