काठमाण्डौ । नेपाल सरकारलाई परिसंघले प्रोटोकल बनाउने सम्बन्धमा राय सुझावहरु प्रस्तुत गरेको र सरकारले बनाएको कोभिड प्रोटोकलमा परिसंघको सुझावलाई प्राथमिकताका साथ समावेश गरेका कारण सरकारले आवतजावत, कार्यालय उद्योग परिसर प्रवेश, कार्यस्थल सरसफाइ र निसंक्रमणलाई पूर्णरुपमा पालना गर्नको लागि नेपाल उद्योग परिसंघले सदस्य लगायत सबै उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ बाट नेपालका उद्योग व्यवसायहरु पनि नराम्ररी प्रभावित भइरहेका छन् । कोभिडको प्रकोपको सुरुसँगै सरकाले लकडाउन, सेमिलकडाउन र निषेधाज्ञा जस्ता बन्देजहरु लगाउँदै आएको र यसबाट उद्योगमा कार्यरत कामदार, श्रमिक, मजदुर र कर्मचारीहरु रोगलेभन्दा भोकले प्रभावित हुने देखिएकोले नेपाल उद्योग परिसंघले कोभिडसँगै काममा लागौ भन्ने स्लोगन समेत अगाडि सारेको थियो । यसको मुख्य आशय भनेको उद्योगमा कार्यरत कामदार, श्रमिक, मजदुर र कर्मचारीहरुको मनोवल उच्च बनाई काममा फर्काउनु थियो । 

उनीहरुको मनोवल उच्च राख्दा उद्योग व्यवसाय सुचारु रुपमा सञ्चालन गर्नको लागि मद्दत पुग्ने र कोभिडको कारण धरासायी बन्दै गएको राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेदेखि परिसंघले सरकारसँग उद्योग व्यवसायहरुमा संक्रमण फैलिएमा संक्रमितहरुको राम्रो उपचारको व्यवस्था गरी प्रभावित क्षेत्र मात्र लकडाउन गर्नु पर्ने जसबाट उद्योग व्यवसायहरुलाई चलायमान बनाई राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्न नदिन अनुरोध गरेको थियो ।


कार्यस्थलमा भौतिक दूरी कायम गर्ने, सवारी साधानको प्रयोग गर्ने सम्बन्धमा, उत्पादन प्रशोधन तथा सामाग्री व्यवस्थापन गर्दा समेत कोभिड प्रोटोकलको पूर्ण पालनाको लागि आग्रह गरेको छ । औद्योगिक उत्पादनहरु ढुवानी र बजार व्यवस्थापनमा समेत सरकारले तोकेका मापदण्डहरुको पूर्णपालना गरी यस्ता कार्यहरु गर्न अनुरोध गरेको छ । 

यसैगरी उद्योग सञ्चालन, ढुवानी तथा बजारीकरणको सिलसिलामा संकास्पद संक्रमित व्यक्तिहरु देखिएमा सुरक्षित तवरबाट स्वास्थ्य संस्थामा पु¥याउने, औद्योगिक प्रतिष्ठानमा सचेताना कार्यक्रमहरु सञ्चालन गर्ने र व्यवस्थापनबाट प्रोटोकलको पालना भएनभएको सम्बन्धमा अनुगमन गर्ने कार्यहरुलाई पनि प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । 

विशेषगरी उद्योग प्रतिष्ठानहरुमा सरकारले तोकेको निश्चित प्रोटोकल सम्बन्धमा चेकलिष्ट नै बनाई उद्योग परिसरमा राख्न समेत परिसंघको आग्रह छ । यसबाट रोगको संक्रमणबाट बच्नको लागि सहयोग पुग्दछ भने रोग लागिहालेमा उपचार गर्न, आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ्ग गर्न र अन्य व्यक्तिलाई संक्रमण हुनबाट जोगाउन सहयोग पुग्ने परिसंघको विश्वास रहेको छ ।