काठमाण्डौ । ‘मलाई भोट हाल्न नबिर्सनुुहोस् है ।’ सलक्क परेको ज्यानमा चिटिक्क परेको साडीचोलो र रेबनको चश्मा ढल्काउँदै चर्चित लोकगायिका कोमल वलीले अनुरोध गर्न नपाउँदै एक कार्यकर्ताले भने–‘तपाईले भोट माग्नै पर्दैन, त्यसै जित्नुुहुन्छ । हामीबाट भोट पक्का, तर दिदी एउटा सेल्फी चाहि लिऊ है ।’ ती कार्यकर्ताले सेल्फी स्टीक सोझ्याए, ओली र उनको प्रचार टिमले समेत पोज दियो । त्यसपछि नारा लाग्यो–‘राप्रपाले के भन्छ, कोमल वली ले भन्छ ।’

शनिवार राप्रपाको बहुुचर्चित एकता अधिवेशनमा देखिएको दृश्य हो यो । चर्चित गायिक कोमल वली समेत यो पटक राप्रपाको केन्द्रीय सदस्यको उम्मेद्वार बनेकी छिन् र आफ्नो सानो टिमका साथ प्रचार अभियानमा शनिवार दिउँसोदेखि कम्मर कसेर लागेकी छिन् । उनको खटाई र उनीप्रति महाधिवेशन प्रतिनिधिले देखाएको सदाशयताले उनले सहजै चुनाव जित्ने संभावना देखिन्छ । तर उनले हौसिएर प्रचार अभियान छाडेकी छैनन् । बरु उनी जहाँ–जहाँ र जो–जोसँग भोट माग्न जान्छिन्, ती कार्यकर्ताले सेल्फी लिन भन्दै उनलाई हैरान पारिरहेका छन् । बिचरा वली पनि कार्यकर्ता रिसाउलान् र भोट नआउला भनेर सेल्फीका लागि क्षणभरमै तयार भइदिने गरेकी देखिएको छ । 

कतिपयले कोमल वलीलाई प्रचार सामाग्रीमा उम्मेद्वारी दर्तापछि तयार मतपत्रको आधारमा नम्बर लेख्न सुुझाव दिएका देखिएको थियो । गायिका वलीले राप्रपाकै राजनीतिमा होमिने भन्दै रेडियो नेपालको सरकारी जागिर समेत हालसालै छाडिसकेकी छिन् । 

उता, उनैको पहलमा राप्रपामा प्रवेश गरेकी चर्चित नायिका रेखा थापाको प्रचार अभियान पनि कमजोर देखियो ।

शनिवार अपरान्हतिर महाधिवेशनस्थलमा पुुगेकी उनले भने वलीले जस्तो कार्यकर्तालाई सेल्फी लिन सहज भइदिइनन् । धेरै कार्यकर्ता उनीदेखि रिसाएका देखियो । एकजनालाई सेल्फीका लागि सहज भइदिंदा कार्यकर्ताको भीडमा सबैसँग हुनुपर्ने र एउटासँग भएर अर्कोसँग नहुँदा माहौल बिग्रिने डरले पनि उनले केही अनुरोधलाई बेवास्ता गरेकी हुन सक्छिन् । साडीचोलो र कपालमा गुलाबको फूल सिउरिएर महाधिवेशनस्थलमा पुुगेकी उनले त्यति धेरै कार्यकर्तासँग कुराकानी समेत गरेको देखिएन । 

कलाकारिताबाट राजनीतिमा करिअर खोज्न राप्रपामा होमिएका यी दुुई गायिका र नायिकाको भविष्य के होला ? यसको समग्र उत्तर महाधिवेशनमा प्रतिनिधि बनेर आएका कार्यकर्ताहरुको मनमा मात्र सीमित छ अहिले ।