काठमाण्डौ । नेपालका लागि दक्षिण कोरियाका राजदूतपार्क योङ्ग सिकसँग नेपालका उद्यमीहरुले नेपालको पूर्वाधार, खनिज उत्खनन्, स्वास्थ्य र उर्जा क्षेत्रमा कोरियाली लगानी भित्र्याउने वातावरण बनाइदिन आग्रह गरेका छन् । 

नेपाल उद्योग परिसंघले राजदूत सिकलाई सोमबार थापाथलीस्थित सचिवालयमा स्वागत गर्दै त्यस्तो आग्रह गरेका हुन् । 

परिसंघका अध्यक्ष हरिभक्त शर्माले विगत ३० वर्षमा दक्षिणकोरियाले गरेको विकास अल्पविकसित मुलुकका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै भने–‘नेपालको निजी क्षेत्र दक्षिण कोरियाका उद्यमीहरुसँग द्विपक्षीय लाभका लागि पर्यटन, बैदेशिक व्यापार, प्रविधि हस्तान्तरण र प्रत्यक्ष बैदेशिक लगानीको क्षेत्रमा कार्य गर्न इच्छुक छ ।’ दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन विकसित मुलुकको नाताले दक्षिण कोरियाले नेपालको निर्यात बिस्तार गर्न, इ.पि.यस. अन्र्तगत बैदेशिक रोजगारीको अवसर बढाउन, कोइकामार्फत नेपालको निजी क्षेत्रमा लगानी बढाउन एवं निजी क्षेत्रमा कार्यरत जनशक्तिलाई प्रशिक्षण उपलब्ध गराउन अझ लचिलो हुनुुपर्ने शर्माको भनाई थियो ।

सो अवसरमा राजदूत सिकले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबूत बनाउन आफ्नो कार्यकालमा सक्रिय रहने प्रण गरेका थिए ।