काठमाण्डौ । महामारीको रुपमा फैलिँदै गरेको कोरोना भाइरसले एसियाली सेयर बजार नराम्ररी प्रभावित भएको छ ।

कोरोना भाइरसको उत्पत्ति भएको चिनियाँ सहर वुहानलाई चिनियाँ सरकारले बन्द गरेपछि चिनियाँ सेयर बजार पछिल्लो आठ महिनायताकै खराब स्थितिबाट गुज्रिँदैछ । त्यहाँको सेयर बजार सांघाई कम्पोजिटमा हिजो बुधबार करिब ३.२ प्रतिशतले गिरावट आएको छ । यो प्रतिशत सन् २०१९ मे महिनामा डोनाल्ड ट्रम्पले चिनमाथि नयाँ भन्सार शुल्क थप्ने धम्की दिएपछि घटेको सेयर बजारपछिकै सबैभन्दा धेरै हो ।

यसैगरी हङकङको सेयर बजार हाङ सेङ इन्डेक्समा पनि करिब २.२ प्रतिशतको गिरावट आएको छ । गत हप्ताको तुलनामा बेन्चमार्कले पनि ४ प्रतिशतभन्दा गुमाएको छ ।

जापानको सेयर बजार निक्की २२५ (एन२२५) मा पनि १ प्रतिशतको गिरावट आएको छ । त्यस्तै कोरियाको सेयर बजार कोस्पीमा पनि ०.९ प्रतिशतको गिरावट आएको छ ।

अहिले चाइनाबाट फैलिएको कोरोना भाइरस बाँकी विश्वमा पनि तीव्र गतिमा फैलिँदैछ । यसले विश्वका सबै राष्ट्रमा स्वास्थ्य चुनौती थपिदिएको छ । यो भाइरसले अहिलेसम्म १७ जना मानिसको ज्यान लिइसकेको छ र ५०० भन्दा बढी संक्रमित भइसकेका छन् ।

चीनबाट अमेरिकासम्म फैलिसकेको यो भाइरस नियन्त्रण गर्न विश्व स्वास्थय संगठनले स्वास्थ्य संकट घोषणा गर्न सक्ने संकेत गरेको छ ।

भाइरस देखिएपछि घट्न थालेको एसियाली सेयर बजारमा घाटा दिनप्रतिदिन बढ्न थालेको छ । – एजेन्सी