काठमाण्डौ । जनरल मोटर्स, बर्गर किङ, सीएनएन, उबर, एअरबीएनबीजस्ता कम्पनीमा के समानता हुन सक्ला ? यी सबैको स्थापना यस्तो समयमा भएको थियो कि जब कारोबार र अर्थव्यवस्थाको दृष्टिकोणबाट खराब समय चलिरहेको थियो।

जनरल मोटर्सको स्थापना सन् १९०८ मा भएको थियो। त्यतिबेला अमेरिका सन् १९०७ को आर्थिक संकटपछिको उथलपुथलको अवस्थाबाट गुज्रिरहेको थियो। 

त्यस्तै सन् १९५३ मा बर्गर किङले पहिलोपटक प्यार्टी लन्च गर्यो। यो त्यही समय थियो जब अमेरिकी अर्थतन्त्र फेरि मन्दीको सामना गरिरहेको थियो। 

सन् १९८० मा जब सीएनएनले आफ्नो प्रशारण सेवाको सुरुआत गरेको थियो तब अमेरिकामा महँगी दर करिब १५ प्रतिशतसम्म पुगेको थियो। उबर र एअरबीएनसीले जब आफ्नो कोरोबार सुरु गरेका थिए तब सम्पूर्ण विश्व सन् २००७–९ मा वित्तीय संकटबाट उठ्ने प्रयास गरिरहेको थियो। 

कठिन आर्थिक अवस्था

अमेरिकाको वासिङ्टनस्थित बाइपार्टिजन पोलिसी सेन्टरका फेलो ड्यान स्ट्याङलरका अनुसार यी ती उदाहरणहरु हुन्, जसले यो बताउँछ कि ठूला र राम्रा कम्पनीहरुको सुरुआत खराब परिस्थितिका बीच भएको थियो। उनका अनुसार मुश्किल आर्थिक अवस्थाले उनीहरुलाई आउँदा वर्षहरुमा सक्षम बनाएको थियो। उनी भन्छन्, ‘यदि तपाइँ मन्दीमा काम सुरु गर्दै हुनुहुन्छ भने कम्पनीलाई सफल बनाउनका लागि तपाइँ धेरै जोर जुत्ता फटाउनुहुन्छ। तपाइँ यस्तो समयमा प्रयासरत रहनुहुन्छ तर तपाइँले सजिलैसँग पैसा आर्जन गर्न सक्नुहुँदैन। बजारमा ग्राहक नहुँदा तपाइँ ग्राहक जुटाउन लाग्नुहुन्छ।” 

स्ट्याङलरका अनुसार अहिले सबैजना वास्तवमै अर्थव्यवस्था र कोरोबारको दृष्टिकोणबाट खराब अवस्थाबाट गुज्रिरहेका छन्। ‘यसका लागि कोरोना संकट र विश्वभर लागू भएको लकडाउन जिम्मेवार छ’, उनी भन्छन्। 

इतिहास साक्षी छ 

विश्व बैंकले अनुमान लगाएको छ कि सन् २०२० मा विश्व अर्थव्यवस्थामा ५ प्रतिशतको गिरावट आउनेछ। दोस्रो विश्व युद्ध र सन् १९४६ पछि विश्वको अर्थव्यवस्थामा यस्तो संकट देखिएको थिएन। 

अमेरिकाको अर्थतन्त्र पहिलेदेखि नै मन्दीको सामना गरिरहेको छ र बैंकअफ इङ्ग्ल्यान्डले पनि बेलायत सन् १७०६ पछिकै सबैभन्दा ठूलो आर्थिक संकटको साक्षी बन्न गइरहेको भनेर जानकारी दिएको छ। 

यसको अर्थ बेलायतमा पछिल्लो ३१४ वर्षसम्म यस्तो खराब अवस्थाको सिर्जना भएको थिएन। तथापि सफल कम्पनीहरुको इतिहास पल्टाउने हो भने उनीहरुको जग खराब अवस्थामै बसालिएको थियो। 

यस्तोमा प्रश्न उठ्न सक्छ कि सन् २०२० मा पनि उद्यमी वर्गले यस्तो जग बसाल्न सक्छन् त ? जसले अब आउने दिनहरुमा मानिसहरुको घरघरमा आफ्नो पहुँच विस्तार गर्न सक्छन्। 

कोरोना संकट 

कोरोना महामारीका कारण वा त महामारीको बाबजुत पनि अहिले थुप्रै नयाँ व्यवसायहरु सुरु भइरहेका छन्। आधिकारिक आँकडाका अनुसार  अमेरिकामा कम्पनी गठनका लागि मे महिनाको अन्तिम सातामात्रै केवल ६७ हजार १६० वटा आवेदनहरु परेका थिए। सन् २०१९ को सोही अवधिको तुलनामा यो संख्या २१ प्रतिशतले बढी हो। 

युनिभर्सिटी अफ क्यालिफोर्नियाका सेन्टा क्रुजमा अर्थव्यवस्थाका प्राध्यापक रोबर्ट फेयरलिका अनुसार धेरैजसो मानिसहरु बेरोजगार भएकाले यस्तो नयाँ कोरोबार सुरु गर्न गइरहेका छन्। उनका अनुसार तलबमा काम गर्ने जागिर नपाएकाहरुलाई आफ्नै कम्पनी स्थापना गर्ने प्रेरणा प्राप्त भइरहेको छ। 

आपतको समयमा अवसर 

यस्तो पनि सम्भव हुन सक्छ कि व्यवसायीको एक तप्का केही समय अघिदेखि नै आफ्नो बिजनेस आइडियामाथि काम गरिहहेको थियो। प्राध्यापक फेयरेली भन्छन्, ‘लकडाउनका कारण मानिसहरुलाई विभिन्न आइडियाका लागि सोच्ने समय प्राप्त भएको छ। हुन सक्छ कि व्यस्त समयका दौरान उनीहरुले यस बारेमा सोचेका होलान र उनीहरुलाई यो काम गरौन त भनेर लागेको होला।’

केही स्टार्टअपहरु कोरोना संकटले आफूहरुलाई व्यवसाय गर्न अवसर प्रदान गरेको ठान्दछन्। उनीहरु यसले महामारीलाई मात दिन आफूहरुसक्षम भएको विश्वास लिन्छन्। पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट बनाउने व्यवसायीहरुको हकमा यो धेरै हदसम्म लागू भएको देखिएको छ। – बीबीसीबाट भावानुवादित