काठमाण्डौ । प्रदेश १ सरकारले कोभिड-१९ को महामारी र बन्दाबन्दीका कारण ठूलो क्षति व्यहोरेका किसानहरुका लागि ४५ करोड रुपैयाँ बराबरको राहात प्याकेजको घोषणा गरेको छ । 

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत  गर्दै यस्तो घोषणा गरिएको हो । कोभिड-१९ का कारण क्षति, नोक्सानी व्यहोरेका किसान परिवारलाई नोक्सानीका आधारमा तथा राहात स्वरुप ४५ करोडको प्याकेज ल्याइएको बताइएको छ । 

यस्तै, सरकारले ‘उत्पादन किसानको जिम्मा हो, बजार र मूल्य सरकारको जिम्मा हो’ भन्ने नाराका साथ कम्तीमा पाँचवटा केन्द्रमा कृषि उपज बैंक स्थापना गर्ने घोषणा समेत गरेको छ । 

अर्ग्यानिक खेतिका उदाहरणीय सफल कृषकहरुलाई वार्षिक रुपमा वर्ष कृषक घोषणा गरी उपर्युक्त सहयोग उपलब्ध गराई प्रोत्साहित गरिने, प्रदेशलाई फलफुल उत्पादनमा आत्मनिर्भर बनाउन र उत्पादित फलफुललाई प्रशोधन गरी निर्यात प्रवर्द्धन गर्न आगामी दशकलाई फलफुल उत्पादन दशकको रुपमा कार्यक्रमहरु शुरु गरिने, यस अन्तर्गत फलफुल उत्पादनको सम्भाव्यता अनुसार ठाउँहरुको वर्गिकरण गरिने र सुन्तला, कागती, लिच्ची, एभोकाडो, किवी, केरा, ओख्खर, रुद्राक्ष जस्ता फलफुलबालीहरुको विस्तार गर्दै अन्तर्राष्ट्रियस्तरको गुणस्तरीयताको मापदण्ड पुगेको सुनिश्चित गरिनेछ। सम्भाव्यताको आधारमा एक स्थानीय तह एक फलफुल नर्सरी कार्यक्रमका लागि पूर्वाधार विकास तथा प्राविधिक सेवा पुर्‍याइने समेत घोषणा भएको छ । 

स्वीस सरकारको सहयोगमा स्थानीय तह र संघीय सरकारसँगको समेत साझेदारीमा यस प्रदेशका मध्य पहाडी क्षेत्रमा कार्यान्वयन भइरहेका साना सिंचाई कार्यक्रमलाई बिस्तार गरी आगामी आ।व।मा ४८ स्थानीय तहमा पुर्‍याइने घोषणा गरिएको छ भने विद्युतको क्षेत्रमा, आगामी दुई वर्षभित्र यस प्रदेशका सवै जनताको घरमा उज्यालो पुर्‍याइने पनि बताइएको छ।

यसका लागि सोलुखुम्बू, ओखलढुङ्गा, ताप्लेजुङ्ग, आदीजस्ता ५० प्रतिशतभन्दा कम विद्युतीकरण भएका जिल्लाहरुमा विद्युत प्रणालीको पहुँच विस्तार गर्न प्राथमिकता दिइने कार्यक्रमा उल्लेख छ।

'पर्यटक र अतिथिको सत्कार, प्रदेश १ को संस्का' भन्ने नाराका साथ पर्यटन उद्योग र व्यवसायलाई सेवामुलक, व्यवस्थित, व्यवसायिक र प्रभावकारी बनाउन क्षमता अभिबृद्धिका साथै पर्यटकीय ब्राण्ड तय गरी प्रचार प्रसारका कार्यक्रमहरु संचालन गर्ने समेत घोषणा भएको छ । 

अत्यावश्यक वस्तु तथा सेवामा पहुँच नपुगेका, न्यून आय भएका विपन्न तथा दुर्गम क्षेत्रका उपभोक्ताको सुविधा र राहतको लागि सहकारीमा आधारित “एक पालिका एक सुपथ मूल्य पसल” सञ्चालन गर्ने, स्वच्छ, सफा र सुन्दर प्रादेशिक वातावरण सृजना गर्न ूनगर तथा गाऊँको सरसफाईमा ध्यान, अनि बन्छ प्रदेश सुसंस्कृत र महानू कार्यक्रमलाई अभियानको रुपमा संचालन गरी यस अभियानमा विद्यार्थीहरु तथा अठार वर्ष माथिका युवा युवतीहरुको सहभागितामा 'जैविक प्रविधि सारा, प्लाष्टिकदेखि टाढा' अभियान सञ्चालन गर्नेसम्मका कार्यक्रम समेत घोषणा गरिएको छ । 

यसबीच, प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत कायम हुने अनुमान गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो प्रदेशको वृद्धिदर ७.४ प्रतिशत थियो । प्रदेश नं. १ ले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा १५.८२ प्रतिशत योगदान गर्दै आएको छ ।