-भिम चन्द
कोरोना महामारीले विश्वका प्राय सबै देशहरुलाई सताए पनि यसबाट बच्नका लागि देशहरुले लिएका नीति, कार्य योजना, परिस्थितिको व्यवस्थापन, जन चेतना, सुरक्षा निर्देशनको परिपालना, खानपिन, जीवनशैली, मानिसहरुको शारीरिक प्रतिरक्षा प्रणाली तथा विविध कारणहरुले सबै देशहरुमा यसको प्रकोप एकै किसिमको रहेको पाइदैन । सरकारको लापरवाहीका कारण समयमा सावधानी नअपनाइदा विदेशबाट आएका नेपालीहरुबाट निकै ढिलोगरी भित्रिएको यो भाइरस नेपालमा प्यारालाइज्ड अवस्थामा रहेको छ । ढिलै भएपनि यसबाट बच्नका लागि विश्व स्वास्थ्य संगठनसंगै सरकारले अवलम्वन गरेका नीति तथा क्रियाकलापहरुमा सबैले साथ दिएकै छन् र यसको सामना आआङ्खनो ठाउँबाट सबैले गरेमा चाँडो यसबाट मुक्ति पाउन सकिएला । नेपालमा हालसम्म देखिएका संक्रमितहरुमा कोभिड १९ नभएर कोरोना प्रजातिको कान्छो कमजोर भाइरस मात्र भएको यसका विज्ञहरुको भनाइ र शंकास्पद व्यक्तिहरुलाई जाँच गर्दा संक्रमण पुष्टी भएकाहरु स्वस्थ्य देखिनुले नेपालमा यो रोगको महामारी भएको मान्न सकिदैन । नेपालमा अहिले साँच्चै भन्ने हो भने कोरोनाले नभई यसको डर त्रासले सताइएको अवस्था छ । भाइरसको संभावित सम्पर्कलाई पूर्ण रुपमा विच्छेद गर्न र संक्रमितलाई यथासक्य छिटो रिकभर गर्न सम्बन्धित सबैले पर्याप्त आवश्यक कामहरु गर्नुको सट्टा अरु देशहरुले त्यहाँकोे अवस्था अनुसार अवलम्वन गरेको लकडाउनलाई नेपाल सरकारले हुबहु यहाँ लागू गरेर जन जीविका माथि खेलवाड र देशको अर्थतन्त्र धरापमा पारिरहेको छ । यही अवस्था लम्बिने हो भने बाँच्नका लागि संघर्षको डरलाग्दो स्थिति देखा पर्नेछ, देशमा अपराधका घटनाहरु बढ्न सक्छन् र आर्थिक गतिविधिहरुमा रुकावट आउँदा देश धरापमा पर्न सक्छ । देशको वर्तमान परिस्थिति अनुसार भाइरस संक्रमणको संभाव्यताको आधारमा नेपाल सरकारले लकडाउनको उपयुक्त मोडल अपनाएर देश विकासका लागि कृषि, पर्यटन, जलश्रोत, सेवा, उद्योग व्यवसाय आदिलाई सुरक्षित तरिकाले संचालन गर्ने गराउने व्यवस्था मिलाएर सम्पूर्ण आर्थिक गतिविधिहरुलाई चलायमान गराउनु पर्छ । 

देशको सर्वाङ्गिण विकासमा भूमिका खेल्ने तमामौं क्षेत्रहरु मध्यको महत्वपूर्ण पर्यटन क्षेत्र कोरोना महामारीका कारण अहिले संसारभर थला परिरहेको अवस्थामा नेपाल जस्तो आयातमा आधारित अर्थतन्त्र भएका मुलुकका लागि रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनको प्रमुख श्रोतको रुपमा रहेको यो क्षेत्र ठप्प रहनु अर्थतन्त्र धरापमा पर्ने संकेत हो । कोरोना महामारीले विश्वलाई अत्याइरहेको वर्तमान परिप्रेक्षमा नेपाल अझैपनि सुरक्षित रहेको र सुरक्षाका केही मापदण्डहरु अपनाएर पर्यटन व्यवसायलाई चल्न दिने व्यवस्था गराउने हो भने प्राकृतिक तथा सांस्कृतिक श्रोत सम्पदामा अथाह संभावना बोकेको पर्यटन क्षेत्रबाट नेपालले अबौं विदेशी मुद्रा भित्र्याउन सक्छ । 

औषधी उपचारको भरपर्दो आधार फेला परि नसकेको र यो दर्दनाक अवस्थाबाट पार पाइने समयको ठेगान पनि नभएको अहिलेको विषम परिस्थितिमा निम्न उपाएहरु अवलम्वन गर्ने हो भने पर्यटन क्षेत्रबाट नेपालले निकै ठूलो फड्को मार्न सक्छ । 

अहिलको परिस्थितिमा पर्यटनबाट समृद्धि हासिल गर्ने तरिकाहरु

१. सुरक्षाको व्यवस्थापन र सुरक्षित मापदण्ड अपनाउने 
उच्चसुरक्षा सतर्कताका साथ बोर्डरहरु ब्लक गर्ने । भाइरस संक्रमणको संभाव्य बाटोलाई विच्छेद गर्ने व्यवस्था मिलाउने । यसको सम्पर्कबिच्छेद गर्ने क्रियाकलाप गर्न गराउन बोर्डर क्षेत्रका बस्तिहरुमा अवस्था अनुसार कडा लकडाउन गर्ने । लुकिछिपि आउनेको सुराकी दिने वा सम्बन्धित निकायमा जिम्मा लगाउने परिवार वा अन्यलाई केही पुरस्कारको व्यवस्था गर्ने । विद्यमान संक्रमितलाई यथासक्य रिकभर हुने वातावरण र उपचारको राम्रो प्रवन्ध गर्ने गराउने । भाइरस संक्रमण भए नभएको पत्ता लगाउने भरपर्दा सक्कली ¥यापिड टेष्ट कीटहरु र क्रसचेकका लागि पीसीआर मेशिनहरु आवश्यक मात्रामा व्यवस्थापन गर्ने गराउने । अबको २ हप्ता देशभित्र शंकास्पद ठाउँका सबैलाई भरपर्दो किटहरुबाट भरपर्दो किसिमले जाँच गर्ने र देश बाहिरबाट आउने सबैलाई प्रवेश बिन्दुमै भरपर्दो किसिमले जाँच गर्ने व्यवस्था मिलाउने । विदेशबाट आयात नगरी नहुने वस्तुलाई प्रवेश विन्दुमै भरपर्दो किसिमले निस्संक्रमित गर्ने मेशिनको व्यवस्था मिलाउने र यसरी सामान ल्याउने गाडीका चालकहरुलाई प्रत्यक पल्ट जाँच गर्ने व्यवस्था गर्ने । त्रिभूवन विमानस्थललाई अत्याधुनिक सेवा, सुविधा र सुरक्षा संयन्त्र सहित व्यवस्थित गर्ने । भरपर्दो परीक्षणद्धारा भाइरस नभएको एकिन गरेर मात्र विमानस्थलबाट भित्रिने व्यवस्था मिलाउने । पर्यटन सेवा संचालन गरिने मार्ग र क्षेत्रका होटल, रेष्टुरेण्ट, सेवा प्रदायक कम्पनीहरुमा कार्यरत जनशक्ति, पर्यटन सेवामा प्रत्यक्ष परोक्ष रुपले संलग्नहरु तथा समग्रमा समाज देशका सबै सुरक्षित रहेको र रहने भरपर्दो व्यवस्था मिलाउनुका साथै स्थानीय श्रोतमा आधारित स्वस्थ्य र सुरक्षित खानपनिको व्यवस्था गर्न लगाउने । 

२. पर्यटक प्रवेश र अनुमतिको प्रावधानलाई सरलीकृत र पर्यटन गतिविधि व्यवस्थित गर्ने व्यवस्था मिलाउने 
नेपालमा पर्यटन सेवा दिने सेवा प्रदायकको सिफारिश वा सन्दर्भका आधारमा अनलाइनबाट भिसा उपलब्ध गराउने व्यवस्था मिलाउने ।  नेपालको पर्यटन बजार रहेका अधिकांश क्षेत्रहरु कोरोना भाइरसले नराम्ररी प्रभावित भैरहेको, तत्काल यो भाइरसको प्रभाव शान्त हुने कुनै आधार नभएको, खासगरी त्यहाँका वरिष्ठ नागरिकहरुमा जीवन खतराको अवस्था रहेको तथा वरिष्ठ तथा ढनाढ्य व्यक्तिहरुहरु त्यहाँको अवस्था साम्य नभएसम्मका लागि सुरक्षित स्थानमा आमोदप्रमोदका साथ जीवन व्यतित गर्न चाहने व्यक्तिहरुलाई आवश्यकतानुसार लामो समयसम्मका लागि प्रवेषाज्ञा दिदा अहिलेको विशेष परिस्थितिमा यस्ता पर्यटकको नेपाल बसाई लम्बिन गई नेपाललाई बढी फाइदा हुनेछ । निषेधित क्षेत्रको पदयात्रा अनुमतिका लागि अनलाइन निवेदनको व्यवस्था कायम रहेको भए तापनि पदयात्रा अनुमति शुल्क बुझाउन र पर्यटकको सक्कली पासपोर्टका साथ पदयात्रा अनुमतिपत्र लिन अध्यागमन विभागमा जानैपर्ने प्रावधान रहेको छ । विधिवत रुपले अनलाइनबाट प्रवेषज्ञा पाएका पर्यटकहरुको रेकर्ड अध्यागमन विभागसंग रहेकै अवस्थामा सेवा प्रदायकले पर्यटकको नेपाल भिसा नम्बर सहितको विवरण उपलब्ध गराएपछि रुजु गरेर पर्यटन अनुमति दिने व्यवस्था गर्दा छिटोछरितो र सबैलाई सजिलो हुन्थ्यो । अनलाइन प्रविधिको अहिलेको युगमा पर्यटन अनुमति शुल्क पनि अध्यागमन विभागको खातामा सिधै ट्रान्सफर गर्नेे र अनुमतिपत्र सेवा प्रदायकको इमेलमा पठाउने व्यवस्था मिलाउने । यसो गर्दा समय तथा श्रमको पनि बचत हुन्छ र अध्यागमनमा पनि थोरै जनशक्ति भए पुग्छ । 

नेपाली पथ प्रदर्शक तथा आवश्यक सहयोगी विना गाइडबुक र कसैबाट भने सुनेका भरमा जताभावी घुम्ने, गैरकानूनी गतिविधि गर्ने, सामाजिक, धार्मिक र साँस्कृतिक मूल्यमान्यता विरुद्धका कार्यहरु गर्ने र कहिलेकाँही अप्ठेरो ठाउँमा बेवारिसे भई ज्यान खतरामा पर्ने, केही वर्ष अगाडी लेखिएको गाइडबुकमा उल्लेख गरेको मूल्यका आधारमा खाना, रुम र अन्य वस्तुको मूल्यमा बार्गेनिङ्ग गर्ने र यिनीहरुका आफ्नै गतिविधिबाट केही समस्या आइपरे देशकै बेइज्जती गर्ने तथा राष्ट्रिय आयमा योगदान भन्दा बढी घाटा गराउने यस्ता पर्यटकहरुलाई (एफआइटी) सकभर सदाको रोक्नु देशका लागि हितकर हुन्छ नभए कम्तिमा पनि अहिलेको परिस्थितिमा यस्ता एफआइटीहरुलाई पूर्ण बन्देज गरेर विधिवत रुपमा दर्ता भएका र सेवा संचालनको अनुमति पाएका सेवा प्रदायक कम्पनी÷संस्थालाई नै जिम्मेवार बनाएर नेपालमा पर्यटकीय गतिविधि संचालन गराउनु बढी सुरक्षित, भरपर्दो र देशको लागि फाइदाजनक हुन्छ । 

३. नेपाल पर्यटनका लागि सुरक्षित रहेको र आवश्यक मापदण्ड सहित खुला गरिएको जानकारी दिने 
पर्यटन प्रडक्ट्स र प्याकेजहरु त सेवा प्रदायक र सेवाग्राहीको आपसी सहमतिमा तय हुने कुरा भइहाल्यो । सरकारले माथि उल्लेखित बुदा नम्बर १ र २ को आवश्यक व्यवस्था मिलाएर नेपाल पूर्ण सुरक्षित रहेको र आवश्यक सुरक्षा मापदण्ड सहित पर्यटनका लागि नेपाल खुला गरिएको जानकारी नेपाल स्थित सम्पूर्ण विदेशी नियोगहरु, विदेश स्थित नेपाली नियोगहरु र सम्बन्धित सबैलाई जानकारी दिने काम गर्ने । पर्यटकको संख्या भन्दा पनि खासगरी गुणस्तरीय पर्यटकलाई ध्यान दिएर त्यसै किसिमका पर्यटकीय गतिविधिमा जोड दिने । त्रिभूवन विमानस्थल बाहेक अरु स्थानबाट पनि पर्यटकहरुलाई नेपाल प्रवेशको व्यवस्था गर्ने हो भने प्रवेश गर्ने गराउने प्रत्यक नाकामा आधुनिक सेवासहित भरपर्दो स्वास्थ्य जाँचको व्यवस्था गरिनुपर्छ । प्रवेश विन्दुमा स्वास्थ्य जाँच गर्दा संक्रमित नरहेकाहरु मात्र नेपालमा प्रवेश पाउने र संक्रमित देखिएमा सोही साधनमा व्यवस्थित रुपले फर्कने व्यवस्था मिलाउनु पर्नेछ । पर्यटन प्रचार प्रसारका लागि अनावश्यक, असान्दर्भिक, अशोभनीय र असुरक्षित विदेश भ्रमण पूर्ण रुपमा निषेध गरी मानवीय भावनामा आँच नआउने गरी अति शिष्ट, मर्यादित र व्यवस्थित तरिकाले निश्चित अनलाइन सुरक्षित माध्यमबाट पर्यटन प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने । पर्यटनका अधिकांश कामहरु त सेवा प्रदायकहरुले नै गरी हाल्छन् । 

४. समय परिस्थिति सुहाउँदा पर्यटन प्रडक्टहरु लञ्च गर्ने र नेपाली परिकारबाट सत्कार गर्ने 
झण्डै समुन्द्र सतहदेखि विश्वकै सर्बोच्च शिखर सगरमाथाको देशमा भौगोलिक विविधतासंगै जैविक र साँस्कृतिक विविधता रहेकाले सिजन अनुसार विभिन्न स्थानमा वर्षैभरी विभिन्न पर्यटकीय गतिविधिहरु गर्न सकिन्छ । अहिले वर्षातको सिजन शुरु भइ नसकेको भएपनि प्रिमनसुन प्रभावकारी भइसकेको स्थिति छ । मध्य पहाडमा बाढीपैह्रोको प्रकोप हुन सक्ने र तराइमा संभाव्य बाढीको प्रकोपसंगै इन्डिया बोर्डरबाट भाइरसको प्रभाव पनि रहन सक्ने भएकाले केही सुरक्षित व्यवस्थापन गरिएका तराइका पर्यटकीय स्थानहरुसंगै वर्षात सिजनका लागि काठमाडौं, पोखरा, दाङ्ग, सुर्खेत, फिक्कल क्षेत्र आदि महत्वपूर्ण पर्यटकीय स्थलहरु सहित मनसुनको न्युन प्रभाव रहने हिमाली क्षेत्र पर्यटनका लागि बढी भरपर्दो र उपयुक्त हुन सक्छ । मध्य पहाडमा मनसुनको प्रभावले हिमाली क्षेत्रसंगको सडक तथा हवाइ पहुँच सहज नभए तापनि हेली ट्रिपहरु तुलनात्मक रुपमा महङ्गा तर बढी सुरक्षित र भरपर्दा हुन्छन् । वर्षात पछि भने सुरक्षित रुपले देशैभरी पहिले झै नियमित पर्यटकीय गतिविधिहरु संचालन गर्न सकिएला । 

अहिलेको विषम परिस्थितिमा भाइरसको संक्रमणबाट पूर्ण सुरक्षित ठानिएका ढोरपाटन, सैलुङ्ग, खप्तड, बडी मालिका, रामारोशन, सुर्मा सरोवर, बझाङ्गको बुढाधौला जस्ता मध्य तथा उच्च पहाडी क्षेत्र सहित पश्चिममा अपि साइपालदेखि ्पूर्वमा मकालु कञ्चनजंघासम्मका हिमाली क्षेत्रहरुमा हेली ट्रिपहरुको व्यवस्थापन गर्न सकिन्छ । प्राकृतिक तथा साँस्कृतिक अध्ययन अनुसन्धान गर्ने विशेष पर्यटकहरुलाई उनीहरुकै योजना मुताविक व्यवस्थापन गर्न सकिन्छ । 

कोरोना भाइरसबाट सुरक्षित रहनका लागि साउदी अरवका राजपरिवार सयकडौं व्यक्तिहरुका साथ सामून्द्रिक द्धिपमा लामो समयका लागि बसाइ सर्न गए जस्तै विश्वका ढनाढ्य व्यक्तिहरु, पाका उमेरका व्यक्तिहरु, विशेष योजना अनुसारका पर्यटकहरु लामो समयका लागि यहाँ आउन सक्छन् । यस्ता भिआइपी र ढनाढ्य पर्यटकका लागि विशेष सेवा सुविधा उपलब्ध गराउन निकै ठूलो जनशक्तिले लामो समयसम्म काम पाउने छन् । अहिलेको परिस्थितिमा बाह्य आयातित खाद्यवस्तुहरु असुरक्षित हुन सक्ने भएकाले नेपालकै ताजा मकै, कोदो, फापर, चामल तथा आलु आदिबाटै तयार गरिने कन्टिनेन्टल, अन्य विदेशी परिकारहरु र स्थानीय परिकारहरु, शरीरको प्रतिरक्षा प्रणाली बलियो पार्ने नेपाली सागसब्जी तथा मसलाहरु र जडीबुटी चिया आदिद्धारा पर्यटकहरुलाई उच्च स्तरीय सेवा र सत्कार प्रदान गरेमा नेपाललाई तत्कालै निकै ठूलो फाइदा हुनुको साथै नेपाली परिकारको पनि प्रवद्र्धन हुँदा हालसम्म विदेशबाट आयात हुँदै आएको अधिकांश पर्यटकीय खाद्यवस्तुलाई अब स्थानीय खाद्यवस्तुहरुले प्रतिस्थापन गर्न सक्नेछन् । स्थानीय वस्तुले गाउँघर तथा आफ्नै ठाउँमा बजार पाएपछि पर्यटनबाट देशले दीगो समृद्धि हासिल गर्न सक्नेछ । कृषि उत्पादन व्यापक हुँदा खाद्यान्नमा खर्च हुने गरेको अर्बौं रकम विदेशिनबाट बच्नेछ र सो रकम देश निर्माण लाग्नेछ । स्थानीय स्तरमै रोजगारीको सिर्जना हुन गई विदेशमा जानुपर्ने बाध्यात्मक स्थितिको पनि अन्त्य हुनेछ ।  

५. पर्यटनमा दण्ड र पुरस्कारको व्यवस्था गर्ने 
पर्यटन क्षेत्र नितान्त सेवामूलक क्षेत्र हो । तर केही व्यक्तिहरु छोटो समयमा रातारात धनी हुने ध्याउन्नमा लागेर अनैतिक रुपले ग्राहकलाई ठगिरहेका पाइन्छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रको पदयात्रामा रहेका पर्यटकहरुमा स्वास्थ्य समस्या देखा परेमा हेलिकोप्टरबाट उद्धार गर्नु सिवाय अन्य विकल्प देखिदैन । यसरी उद्धार गर्नुपर्दा हेलिकोप्टर र आवश्यक उपचार खर्च बीमा कम्पनीले तिर्नेगरी विदेशी बीमा कम्पनीहरुबाट पर्यटकहरुको ट्राभल इन्सुरेंस गरिएको हुन्छ । बीमाको यस रक्षावरण प्रावधानमा टेकेर बीमा कम्पनीले उद्धार र उपचार खर्च बेहोरिहाल्छ भन्ने सोच राखेर पर्यटन क्षेत्रमा लागेका केही गलत व्यक्तिहरुले पदयात्रामा गएका पर्यटकहरु उच्च हिमाली भेगमा पुगेपछि कुकबाट फुडप्याइजनिङ्गद्वारा पर्यटकलाई बिरामी बनाई हेलिकोप्टरबाट रेस्क्युको नाटक गरेर काठमाडौंका निजी अस्पतालमा उपचारको ढोंग रचेर मोटो रकमको बिल थमाएर केही महिना अघि बीमा कम्पनीबाट रकम असुल गर्ने कार्यको पर्दाफास भएपनि त्यस्ता गलत व्यक्तिहरुको नामावली सहित हालसम्म पनि कारवाही गरिएको कुनै जानकारी नआएकाले अमेरिका युरोपका अधिकांश बीमा कम्पनीहरुले हिमाली क्षेत्रमा जाने पर्यटकको यस्तो बीमा गर्न रोकेको कुरा समाचारमा आएको थियो । 

पेशा, व्यवसाय र देशको इज्जतमा आँच आउने काम गर्ने जोसुकैलाई कडा कारवाही गर्ने र देशको राष्ट्रिय आयमा टेवा पुर्याउने, रोजगारी सिर्जना गर्ने, नियम कानूनको अधिनमा रही इमान्दारीपूर्वक पेशा व्यवसाय गर्ने तथा पर्यटन क्षेत्रलाई मर्यादित किसिमले संचालन गर्ने र पर्यटन विकासमा योगदान दिनेलाई उचित पुरस्कारको व्यवस्था गरिएमा पर्यटकीय सेवाको स्तर राम्रो हुन गई गुणस्तरीय पर्यटक भित्रने र गुणस्तरीय पर्यटकबाट देशले उच्च फाइदा लिन सक्नेछ । 
(लेखक काठमाण्डौको पर्यटन व्यवसायी हुन् ।)