काठमाण्डौ । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले अमेरिका र सम्पूर्ण विश्वको विश्लेषण गर्दै कोरोना महामारीको वर्तमानको अवस्था आफूले अनुमान गरेभन्दा भयावह भएको बताएका छन्।

सीएनएनसँग कुरा गर्दै बिल गेट्सले अमेरिकामा कोरोनाबाट अझै पनि मानिसहरुको मृत्यु भइरहेकाले महामारीविरुद्धको लडाइँमा अमेरिका अलिकति पनि नजिक नपुगेको टिप्पणी गरेका छन्। ‘कोरोनाको परीक्षणलाई तीव्रगतिमा लैजान सम्भव छ। विश्वका अन्य देशहरुले यो मामिलामा धेरै राम्रो काम गरिरहेका छन् र त्यहाँ प्रविधिको प्रयोगमा पनि सुधार भइरहेको छ’, उनले भने, ‘तर अमेरिकामा अनुमान विपरीत प्रभावकारी नेतृत्व र सहकार्यको कमी देखिएको छ।” 

करिब आठ साताअघि गेट्सलाई सीएनएनको टाउन हलमा अतिथिका रुपमा बोलाइँदा अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या १० लाखभन्दा बढी थियो र मृत्यु हुनेको संख्या ६३ हजार थियो। तर अहिले त्यो संख्या दोब्बरले वृद्धि भएको छ। 

अहिले अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या कम्तीमा पनि २४ लाख पुगेको छ। त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १ लाख २२ हजारभन्दा धेरै पुगेको छ। 

अमेरिकामा कोरोना संक्रमण वृद्धि हुनुको कारण पर्याप्त परीक्षणको अभाव र मास्क नलगाउनु भएको गेट्सले बताएका छन्। उनले यस विषयमा अन्य देशहरुले प्रभावकारी कदमहरु चलेकाले त्यहाँ कोरोना संक्रमणको कमी आएको दाबी गरेका छन्। 

यसका साथै बिल गेट्सले केही अमेरिकी नागरिकले कोरोनाको प्रभावलाई सामान्य रुपमा लिएकाले उनीहरुकै व्यवहारका कारण कोरोना व्यापक रुपमा फैलिरहेको बताएका छन्। ‘केही मानिसहरुले कोरोनालाई राजनीतिक विषयका रुपमा लिएका छन्, जुन दुर्भाग्यपूर्ण छ’, उनले भने। – एजेन्सी