काठमाण्डौ । कोरोना महामारीका कारण दिनहुँजसो अशुभ समाचारमात्रै सुन्नमा आइरहेकै बेला अमेरिकाबाट एउटा सुखद् खबर आएको छ।

कोरोना महामारीले अधिकांशका लागि बज्रपात निम्त्याए पनि अमेरिकाका दुई दिदी–बहिनीका लागि भने सुखद् संयोग बनेको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार कोरोनाका कारण यी अमेरिकी दिदी–बहिनीहरुको पुनर्मिलन भएको छ। त्यो पनि ५० वर्षपछि। 

यो घटना हो, अमेरिकाको नेब्रास्काको। खबरका अनुसार बोरो फ्रेमोन्ट अमेरिकाको मेथोडिस्ट हेल्थको डंकलाउ गार्डेनमा काम गर्ने गर्छिन्। उनी ५३ वर्षकी भइन्। 

कोरोना संक्रमणपछि बोरो निकै कमजोर बनेकी थिइन्। जसका कारण उनी अस्पताल भर्ना भइन्। उता उनकी दिदी डोरिस क्रिप्पनको पनि हात भाँचियो। उनी पनि त्यही अस्पतालमा भर्ना भएकी थिइन्। 

बोरो आफू भर्ना भएकै अस्पतालमा काम गर्ने गर्छिन्। उनले वार्ड बाहिर लेखिएको बिरामीको नामको सूचीमा आफ्नी दिदीको नाम देखिन्। अनि उनले आफ्नी दिदीलाई ५० वर्षपछि भेट्टाउन सफल भइन्। 

यी दिदी–बहिनी सन् १९६७ मा छुट्टिएका थिए। उनीहरुका बुवाले १९६७ मा परिवार छोडेर गएका थिए र जाँदाखेरी कान्छी छोरी बोरोलाई पनि सँगै लगेर गएका थिए। त्यतिबेला उनी केवल ६ महिनाकी मात्रै थिइन्। 

५० वर्षपछिको पुनर्मिलनपछि राम्ररी कान नसुन्ने कान्छी बहिनीले जेठी दिदीसँग कुरा गर्नका लागि ह्वाइटबोर्डको सहयोग लिएकी थिइन्। पुनर्मिलनको घटनाबारे बताउँदै बोरोले भनिन्, ‘म ह्वाइटबोर्ड लिएर गए र दिदीसँग सोधेँ, के तपाइँको बुवाको नाम भेन्डल हफम्यान हो ? भनेर। दिदीले उहाँ आफ्नो बुवा भएको बताउनुभयो। दिदीले भन्नुभयो “म तिम्रो दिदी हुँ, बेवी। यो सुनेपछि म कुर्सीबाट लगभग लड्न पुगे र रुन थालेँ। दिदीसँग भेट्न पाउँदा मलाई अलग प्रकारको खुसीको अनुभूति भइरहेको थियो।’ 

यस्तै क्रिप्पनले पनि आफ्नी बहिनीसँग भेट्दाको अनुभव यसरी सुनाइन्, ‘जब मैले बहिनीलाई देखेको थिएँ तब ऊ सानी थिई। आज उनी ५३ वर्षको भइसकेकी छन्। मलाई हाम्रो पुनर्मिलन सपनाजस्तो लागिरहेको छ। मैले सोचेको पनि थिइनँ कि यो जूनीमा हाम्रो भेट हुन्छ भनेर।’

दुवै दिदी–बहिनीले लामो समयदेखि आफूहरुले एक–अर्कालाई खोजेको बताएका छन्। – एजेन्सी