काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट संक्रमितको पहिलो मृत्यु भएको आधिकारिक रुपमा पुष्टि भएको छ । 

काभ्रेको धूलिखेलस्थित अस्पतालमा श्वासप्रश्वासमा समस्या आई उपचार गर्न ल्याइएकी २९ वर्षीया सुत्केरीको मृत्यु कोरोना भाइरसको संक्रमणबाटै भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । 

यसअघि धूलिखेल अस्पतालले कोरोनाको शंकास्पद रिपोर्ट आएको भन्दै कन्फर्म रिपोर्टका लागि मृत सुत्केरीको थ्रोट स्वाब टेकूस्थित केन्द्रीय प्रयोगशालामा जाँच गर्न पठाइएको बताएको थियो । टेकूमा भएको स्वाबको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको मन्त्रालयले पुष्टि गरेको हो । 

त्रिवि शिक्षण अस्पतालमा १० दिनअघि सिन्धुपाल्चोकको बाह्रबिसे ९, राम्चे घर भएकी युवतीको नर्मल सुत्केरी गराइएको थियो । त्यहाँबाट डिस्चार्ज भएकी उनको अवस्था एकाएक गम्भीर भएपछि बिहीबार धूलिखेल अस्पताल ल्याइएको थियो । 

ती युवती बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा सुत्केरी गराउन भर्ना भएकी थिइन । २४ गते नर्मल डेलिभरी भएको थियो । २५ गते शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । त्यसपछि घर गएकी थिइन । घरमा एक्कासी उच्च ज्वरो आई श्वासप्रश्वासमा पनि समस्या भएपछि ती सुत्केरीको स्थानीय अस्पतालमा उपचार गरिएको थियो । त्यहाँ ठीक नभएको र अवस्था गम्भीर बनेपछि उनलाई धूलिखेल अस्पताल ल्याइएको थियो । सो क्रममा ती सुत्केरीको अस्पताल ल्याउने क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

धूलिखेल अस्पतालको भेन्टीलेटरमा राखेर उपचार गर्ने क्रममा सुत्केरीको ज्यान गएको पुष्टि भएसँगै उनको उपचारमा संलग्न चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मीको थ्रोट स्वाब संकलन गरी आइसोलेसनमा राखिएको छ । ती युवतीका माइती र घरतर्फका आफन्तहरुको समेत स्वाब संकलन थालिएको छ । माइती र घर रहेको गाउँलाई पूर्ण रुपमा शिल गरिएको छ । 

ती युवतीको शनिवार राति पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिसकिएको छ ।

नेपालमा हालसम्म २८१ जनामा कोरोना संक्रमण फेला परिसकेको छ । यसमध्ये ३६ संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।