काठमाण्डौ। कोरोनाभाइरसको संक्रमणबाट मत्यु भएका एक युवकको सम्पर्कमा आएका अर्घाखाँचीका ३० जनामा पनि सोमबार संक्रमण पुष्टि भएको छ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको भारतबाट मजदुरी गरी घर फर्कने क्रममा जेठ १० गते बाटोमै मृत्यु भएको थियो। कपिलवस्तु जिल्ला अस्पताल ल्याएर पोस्टमाटर्म गर्ने क्रममा उनको स्वाब संकलन गरी भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। तर रिपोर्ट आउनुअघि नै मृतकको अन्त्येष्टि गरिएको थियो।

मृतकमा कोरोना पुष्टि भएपछि भारतबाट सँगै आएका, मृतकको शव बोकेका र उनको सम्पर्कमा रहेका ५० जनाको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो। तीमध्ये ३० जनामा संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए।

संक्रमित हुनेमा सन्धीखर्क नगरपालिकाका २९ जना र शितगंगा नगरपालिकाका एक जना छन्।