काठमाण्डौ । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनका क्रममा यदि तपाइँ घरबाटै काम गरिरहनुभएको छ भने पक्कै पनि अफिस आउजाउ र बाहिर खाजा खाने पैसा बचिरहेको होला। तर अर्कोतिर यही लकडाउनका कारण लाखौँ गरिब मजदुरको जागिर गुमेको छ भने आयस्रोत ठप्प बनेको छ।

अर्थशास्त्रीहरुका अनुसार यो महामारीका कारण यस्तो अनौठो स्थिति सिर्जना भएको जुन यसअघि कुनै पनि महामारीमा भएको थिएन। ‘यो महामारीले परिवारको आय अनौठो तरिकाले परिवर्तन भएको छ’, क्यापिटल इकोनोमिक्सका प्रमुख अर्थशास्त्री नील शिरिङ भन्छन्, ‘एकातिर लाखौँ मानिसको आयको स्रोत सुकेको छ भने अर्कोतिर घरबाटै काम गर्दा हजारौँ मानिसको खर्च जोगिएको छ र नसोचेको बचत बढेको छ।’

रेबेका ओ–कनर वेबसाइट गुड विद मनीका संस्थापक छिन् र रोयल लन्डमा पर्सनल फाइनाइन्स स्पेसेलिस्टका रुपमा पनि काम गर्छिन्। उनले भनिन्, ‘आर्थिकस्तरमा अब मानिसहरुको वस्तुस्थिति परिवर्तन भएको छ। केही मानिसलाई सानो रकम जम्मा गर्न पनि मुस्किल भइरहेको छ।’

यद्यपि रेबेकाले केही व्यावसायिक मानिसहरुले भने खर्चमा भएको कटौतीले भारी रकम जम्मा गरिरहेको बताइन्। उनका अनुसार लकडाउनका कारण निजी सवारीसाधन नचल्दा पेट्रोल खर्च बचत हुनु, सार्वजनिक यातायात खर्चमा पनि बचत हुनु, साथीहरुसँगको भेटघाट र नियमित खर्च पनि बचत हुनु आदिले बचत बढिरहेको छ।

रेबेका आफूले पनि यो लकडाउनको अवधिमा नसोचेको पैसा बचत गरिरहेको सुनाउँछिन्। ‘म मात्र होइन बेलायतमा अरु थुप्रै व्यावासायिक मानिसहरुले राम्रै बचत गरिरहेका छन्’, उनी भन्छिन्, ‘अनि कोरोनापछिको सुनौलो भविष्यको सपना बुनिरहेका छन्।’

जो मानिस अहिले घरबाटै काम गरिरहेका छन् उनीहरु ठूलै धनराशि बचत गर्न सफल भइरहेको आर्थिक विश्लेषकहरुको दाबी छ। जब कि मध्यम आय भएका २० प्रतिशत परिवारहरुको भने अहिले उधारो बढेको छ। उनीहरु या त क्रेडिट कार्डबाट अधिक प्रयोग गरिरहेका छन् या उधारोमा सामान खरिद गरिरहेका छन्।

रेबेका भन्छिन्, ‘हात पैसा धेरै हुनुको मत यो होइन कि अधिक खर्च गर्नुपर्छ किनकि विश्व अर्थव्यवस्था अहिले खतरामा छ।’

अहिले भनेको बचेको पैसा राम्रो आम्दानी हुने ठाउँमा लगाउने अवसर रहेको रेबेका बताउँछिन्। ‘अहिले बचेको पैसा कतै कतै राम्ररी लगानी गरेरमा भविष्यमा आवश्यक पर्दा झनै राम्रो प्रतिफल प्राप्त हुन्छ’, उनी भन्छिन्।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का शोधकर्ता स्टिभन क्यापसोसका अनुसार अहिलेको आर्थिक संकट निकै फरक छ। ‘किनकि यो महामारीको संकटले सीधै श्रमबजारमा हमला गरेको छ’, उनले भने, ‘अहिले केही क्षेत्र पूर्ण रुपमा बन्द छ भने केही निरन्तर चलिरहेका छन्।’

आईएलओको अनुसार यो संकटकालमा ३० करोड पूर्णकालीन जागिर बर्बाद भएको छ। विकसित देशसँगै विकासोन्मुख देशका श्रमबजारहरु नराम्ररी प्रभावित भएको आईएलओको ठहर छ।

उता विश्व बैंकको अनुमानअनुसार कोरोना महामारीका कराण विश्वभर करिब १० करोड मानिस चरम गरिबीको सिकार हुने खतरा बढेको छ। 

अन्तर्राष्ट्रिय मुद्रा कोषले अपिल गरेको छ कि यो महामारीबाट बाहिर निस्किनका लागि नीति बनाउन आवश्यक छ, जसले असमानता अन्त्य गर्नेतर्फ ध्यान दिन जरुरी छ। – बीबीसीबाट भावानुवादित