काठमाण्डौ । जनकपुरका पूर्वमेयरसहित थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार राति जनकपुरका पूर्वमेयर ७२ वर्षीय कृष्ण गिरीको मृत्यु भएको छ। श्वासप्रश्वासमा तीव्र समस्या देखिएपछि गिरी जनकपुरबाट ल्याएर मेडिसिटीमा भर्ना गरिएको थियो। भर्ना गरेकै बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य समस्या जटिल बनेपछि गत एक सातादेखि गिरीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनी मुटु र उच्च रक्ताचापका बिरामी रहेको पारिवारिक स्रोत बताउँछ। 

२०४२ सालमा गिरी जनकपुरका मेयर बनेका थिए।

यसैगरी सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधबार बिहान ५५ वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 

मोरङको बुढीगंगा गाउँपालिकाका ती पुरुष श्वासप्रश्वासमा समस्या र ज्वरो देखिएपछि गत साउन २६ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो। त्यतिखेरै पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो।