काठमाण्डौ । कोरोनाभाइरसविरुद्ध जागरुकता फैलाउन विश्वमा विभिन्न उपायहरु अबलम्बन भइरहेको पाइन्छ । ड्यूटीमा खटिएका प्रहरीहरुले जनतासामुु सन्देश पुुर्याउन अलग अलग तरिका प्रयोगहरु गरिरहेका छन् । 

भारतमा कोरोना विरुद्ध सचेतना फैलाउन एक प्रहरीले प्रयोग गरेको तरिकाले यतिबेला चर्चा पाएको छ । आन्ध्र प्रदेशका एक प्रहरीले जनतासामुु कोरोनाको सन्देश फैलाउन एक अनौठो तरिका अपनाएका छन् । 

आन्ध्र प्रदेशको कूरनल जिल्लामा तैनाथ एक सब इन्स्पेक्टरले घोडामा पेन्टिङ गरेर जनतालाई कोरोनाबारे जागरुक गरिरहेका छन् । उनको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा धेरै सेयर भइरहेको छ । तस्बिरमा उनी एउटा घोडामा सवार छन् । उनी सवार भएको घोडाको पूरै जीउमा रातो रंगले कोरोनाभाइरसको चित्र कोरिएको छ । जनताले चित्र हेरेर कोरोनाबारे सचेत हुुन सकून भनेर आफूले यस्तो उपाय प्रयोग गरेको उनले बताएका छन् ।