काठमाण्डौ । गत आर्थिक वर्षका तेस्रो त्रैमासमा नेप्से परिसूूचकमा ५०० अंकको सुधारसँगै बजारमा कारोबार रकम, सेयर कारोबार संख्यालगायत रेकर्ड ब्रेक गर्यो।तर, अकस्मात आएको कोरोनाले बजारलाई पनि छोडेन। यो समय बजार सम्बद्ध सबैलाई पीडादायी बनायो। जब बजार खुल्यो र वर्षको अन्ततिर बजारले आफ्नो गति समात्दै सबैलाई राहत महसुस गर्ने गरी बिदा भएको छ। 

बजारका जानकारहरुले गत आर्थिक वर्षको सेयर बजारलाई कसरी नियाले र चालु आर्थिक वर्षमा कस्तो अपेक्षा राखेका छन् ? उनीहरुको धारणा जस्ताको तस्तै –

भरत रानाभाट– अध्यक्ष, स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल

वित्तीय वर्षको सुरुका दिनमा खासै राम्रो गर्न नसकेको बजार वर्षको बीचतिर कारोबार भोल्युमलगायत धेरै कुरा रेकर्ड ब्रेक गरेको थियो। बजार सुधार आई १६०० प्लसमा नै भइसकेको थियो यो अत्यन्तै सुखद थियो। अकस्मात आएको कोरोनाले बजारलाई पनि छोडेन। करिब १०० दिन कारोबार रोकिन पुग्यो।पछिल्लो २–४ दिनका कारोबारले यो वर्षका लागि सुनौलो आशा पनि छोडेर गएकोले सकारात्मक अपेक्षा छ।

दिलीप मुनंकर्मी– बजार जानकार

लकडाउनले सूचीकृत कम्पनीहरूको खस्केको व्यवसाय र मुनाफा अनि बजार क्र्यास हुन्छ। जसले सेयरमूल्यमा अत्याधिक गिरावट आउने धेरैको अनुमान र घोषणाका बाबजुद समग्रमा बजार सकारात्मक रहनु निकै सुखद् हो। लकडाउनकै कारण गत आवमा ९८ दिनको बजार बन्द रह्यो भने दैनिक कारोबारले ऐतिहासिक उचाइ चुम्दै ४.५ अर्ब नाघ्यो। अनेक अनुमान र असहजतालाई चिर्दै बजारसूचक नेप्से वार्षिक ८.२१ प्रतिशतले बढेर १३६२ पुग्यो भने उच्चतम १६३२ को उचाइसमेत कायम हुन पुग्यो। यसरी हेर्दा समग्रमा बजारलाई उत्साहजनक मान्न सकिन्छ तर आगामी दिन थप चुनौतीपूर्ण हुनेछ। कम्पनीहरुको मुनाफाको अंक अनि खासगरी बैंक तथा वित्तीय संस्थाहरुको लाभांस क्षमताले बजारको दिशा र दिशालाई कता मोड्ने अझै अनिश्चित छ।

आवको अन्तमा नै भए पनि संघीय संसदीय समितिले बजारका बारेमा अध्ययन र सिफारिस सहितको प्रतिवेदन दिएको छ। जसले राज्यसँगै व्यवस्थापिकाको समेत चासो र चिन्तालाई उजगार गरेको छ। बजार शुद्धीकरणका लागि डिम्याट इन्टिग्रेसनसँगै क्लोजआउटको धेरै समस्या समाधानउन्मुख छ। अब विस्तारै बास्तविक स्वचालित र सहज अनलाइन प्रणालीतर्फ बजारउन्मुख हुनेछ। पहिचान भएका समस्या र सुधारका प्रयासको सार्थक कार्यान्वयन हुने हो भने पूँजीबजारले अर्थतन्त्र, लगानीकर्ता र कारोबारी सबैको भलो गर्ने आशा गर्न सकिन्छ।

केशव कोइराला– बजार जानकार

तेस्रो त्रैमासिकको मध्यसम्ममा बजार निकै मजबुत देखिएको थियोे। बजारले आब २०७६÷७७ भित्र नै नयाँ उचाइ छुने आँकलन थियो। तर अकस्मात कोरोना भाइरसको त्रासले बजारको घाँटी थिच्यो। ९७ दिनसम्म बजार बन्द भएको तीतो यथार्थ पनि भोग्नुपर्यो। यसको बाबजुद पनि आर्थिक वर्षको अन्तः सुखद् भयो। आव २०७७÷७८ को तेस्रो त्रैमासिक सम्ममा बजारले नयाँ उचाइ चुम्नेछ भन्ने मेरो विश्वास छ।

हरेराम घिमिरे– सेयर कारोबारी

गत वर्ष सेयर बजार खासै सुखद भन्न मिल्दैन। बजार सुधार तथा विकासका निम्ति बजारको विकृति र विसगंतिविरुद्ध लगानीकर्ताले खर्चिनुपर्यो। समग्रमा भन्नुपर्दा गत वर्ष उत्साहप्रद रहेन। यो वर्ष सेयर बजार प्रविधिमैत्री बनाउन नियामकको दृष्टि परोस् र लगानीकर्ताहरुका निम्ति बजारमैत्री वातावरण सिर्जना होओस् भन्ने मेरो अपेक्षा छ।

कमल पन्थी– युवा लगानीकर्ता

गत आवमा नेप्से इन्डेक्स १०९८ र १६६० को विन्दुका बीच निकै उत्तारचढावको अवस्था रह्यो। पूँजीगत लाभकर र बैंकलाई ब्रोकर लाइसेन्सजस्ता नीतिगत व्यवस्थाले बजारमा धेरै आशा जगाएको छ। निकट समयमा नै लागू गरिने बुक बिल्डिङ विधिले अन्य क्षेत्रका कम्पनीहरुको प्रवेश पूूँजीबजारमा हुुने आशा पलाएको त पक्कै छ नै पर्याप्त नगद तरलता, एकल अंकको ब्याजदर कारण अब आगामी दिन बजारले नयाँ रेकर्ड र विन्दु चुम्नेमा म आश्वस्त छु।