काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म २७ अर्ब ३४ करोड बढी बिमाशुल्क आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.७८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २२  अर्ब ८२ करोड बढी बिमाशुल्क आर्जन गरेको थियो । 

नेपाल लाइफले कोरोना कहरकै बीच विजिनेशमा पनि आक्रामक मूभ लिएको देखिन्छ । यो कम्पनीले पुनर्बिमा कसिमनबाट हुने आय २ करोड ३४ लाखबाट बढाएर ८ करोड ६७ लाखको उचाई चुमाएको छ भने लगानी, कर्जा तथा अन्यबाट हुने आय समेत ४ अर्ब ४८ करोडबाट बढेर ५ अर्ब ६५ करोडको उचाईमा पुगेको छ । 

बिमालेखको धितोमा कर्जाबाट हुने आय पनि १ अर्ब ८ करोडबाट वृद्धि भई १ अर्ब ५८ करोड पुगेको छ । 

समीक्षा अवधिमा नेपाल लाइफले ५ अर्ब ९७ करोड बढी दाबीभुक्तानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ७ अर्ब ९९ करोड बढी दाबीभुक्तानी गरेको थियो । बिमा कम्पनीमा प्रिमियम बढ्नु र दाबीभुक्तानी भने घट्नुलाई गुणस्तरीय विजिनेशको मानक मानिन्छ । नेपाल लाइफले कोरोना संकटमै पनि यस्तो मानक कायम गरेको देखिएको हो । 

नेपाल लाइफले जीवन बिमा कोषको आकार समेत ६५ अर्ब ३६ करोडबाट बढाएर ८७ अर्ब २ करोडको उचाई चुमाएको छ । 

महाविपत्ति कोष जगेडाको आकार ४३ करोड ६७ लाखबाट बढेर ५५ करोड ४९ लाख पुगेको छ भने जगेडा तथा कोषको आकार २ अर्ब ४३ करोडबाट बढेर ३ अर्ब ५० करोडको उचाईमा पुगेको छ । 

यो कम्पनीको अघिल्लो वर्ष यही अवधिमा ५२ करोड ३२ लाखमा सीमित नाफा बढेर यो वर्ष ५३ करोड ३ लाख पुगेको छ । 

अघिल्लो वर्ष यही अवधिसम्म १२ लाख ८० हजारमा सीमित बिमालेखको संख्या बढेर १३ लाख ४ हजार पुगेको देखिएको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.६५ रुपैइाँ, प्रतिसेयर नेटवर्थ १७३.९२ रुपैयाँ, पीई अनुपात १३०.५७ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८६८ रुपैयाँ र औसत प्रतिफल दर ९.९३ प्रतिशत रहेको छ ।