काठमाण्डौ। महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसले विश्व पर्यटन क्षेत्रमा नकारात्मक असर पार्दै गइरहेको छ।

संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) ले कोरोनाको प्रभावले विश्व पर्यटन क्षेत्रमा सन् २०२० मा १ देखि ३ प्रतिशतसम्मको गिरावट आउने प्रक्षेपण गरेको छ। यसबाट विश्व पर्यटन क्षेत्रमा ३० देखि ५० बिलियन डलर (५० खर्ब रुपैयाँ बढी) को नोक्सानी हुने यूएनडब्ल्यूटीओको अनुमान छ।

यसअघि यूएनडब्ल्यूटीओले सन् २०२० विश्व पर्यटन क्षेत्रमा ३ देखि ४ प्रतिशतको बढोत्तरी आउने प्रक्षेपण गरेको थियो।

यूएनडब्ल्यूटीले कोरोनाबाट एसिया र प्यासेफिकको पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाएको छ। यूएनडब्ल्यूटीओले एसिया र प्यासेफिकमा मात्रै ९ देखि १२ प्रतिशतसम्म गिरावट आउने अनुमान गरेको छ। यसअघि जनवरीमा गरेको प्रक्षेपणमा यो भेगमा ५ देखि ६ प्रतिशतसम्मको वृद्धि हुने अनुमान थियो।

कोरोना भाइरसको संक्रमण कम गर्न र यसले पर्यटनमा पारेको प्रभाव न्यूनीकरण गर्न यूएनडब्ल्यूटीले विश्व स्वास्थ्य संगठन तथा अन्य दातृ निकायसँग समन्वय गरेर काम गरिरहेको जनाएको छ।