काठमाण्डौ । भारतमा कोभिड-१९ का कारण उत्पन्न परिस्थितिका कारण त्यहाँको सरकारले पेन्सन र तलबसम्बन्धी नियममा महत्त्वपूर्ण परिवर्तन गर्ने घोषणा गरेको छ।

यसबाट प्रधानमन्त्रीसहित सबै सांसदको तलब ३० प्रतिशतले कटौती हुने बताइएको छ। सोमबार मन्त्रिपरिषद्को बैठकपछि भारतका सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले सांसदको तलब कटौती गर्ने निर्णय गरिएको जानकारी दिए।

बैठकले दुईवटा महत्त्वपूर्ण निर्णय लिएको भन्दै उनले भने, "पहिलो निर्णय नेताहरूको तलब र पेन्सनसँग जोडिएको 'संसद् सदस्य (तलब, भत्ता र पेन्सन) सँग जोडिएको अधिनियम १९५४' मा परिमार्जन गरिनेछ। त्यसबाट कोरोनाको महामारीसँग जुझ्न प्रधानमन्त्रीसँगै सबै सांसदहरूको तलब ३० प्रतिशतले कटौती हुनेछ।"

नियम नै परिमार्जन

जावडेकरका अनुसार कटौती एप्रिल १, २०२० देखि लागु हुनेछ र आर्थिक वर्ष २०२०-२१ सम्म लागु रहनेछ। तलबबाहेक सांसदहरूको भत्ता पनि कटौती गरिनेछ। मन्त्री जावडेकरले राष्ट्रपति, उपराष्ट्रपति र सबै राज्यका गभर्नरहरूले पनि स्वेच्छाले आफ्नो तलबको ३० प्रतिशत कटौती गर्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार सांसदहरूलाई क्षेत्रीय विकासका लागि दिने गरिएको सांसद विकास कोष पनि आगामी दुई वर्षका लागि निलम्बन गर्ने निर्णय गरिएको छ।

सन् २०२०-२१ र २०२१-२२ सम्म भारतको उक्त सांसद स्थानीय क्षेत्र विकास कोष कार्यक्रम रोकिने उनले जानकारी दिए। सबै सङ्घर्ष कोरोनाभाइरस महामाीविरुद्ध केन्द्रित गर्न यस्तो निर्णय लिइएको भारत सरकारले जनाएको छ।

विपक्षी दलको प्रतिक्रिया

विपक्षी भारतीय कांग्रेस पार्टीले पनि तलब कटौतीसम्बन्धी निर्णयको समर्थन गरेको छ तर स्थानीय क्षेत्र विकास कार्यक्रम निलम्बन गरिएकोमा विरोध जनाएको छ। कांग्रेसका वरिष्ठ नेता अहमद पटेलले आफूले सांसदहरूको तलब कटौतीको स्वागत गरेपनि सरकारले चाहे हजारौँ करोड रुपियाँ खर्चबाटै जोगाउन सक्ने बताए। 

कांग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामाजिक सञ्जाल ट्विटरमा सम्बोधन गर्दै तलब कटौतीप्रति समर्थन रहेको जनाएका छन्। तर उनले आफ्नो क्षेत्रमा काम गर्न सांसदहरूलाई सहयोग गर्दै आएको सांसद कोष निलम्बनलाई समर्थन गर्न नसक्ने बताए।

भारतमा ४,४०० भन्दा बढी सङ्क्रमण

यसैबीच भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसविरुद्ध देशको राष्ट्रिय हेल्थ मिशन र राज्यस्तरका विपद् राहत कोषमा रहेका रकम परिचालन गर्न सकिने जनाएको छ।

भारतमा मङ्गलबार बिहानसम्म ३,९८१ वटा कोभिड-१९ का सक्रिय सङ्क्रमणहरू रहेको अधिकारीहरूले जनाएका छन्।त्यहाँ हालसम्म ४,४२१ वटा कोरोनाभाइरसको सङ्क्रमणका घटना देखिएका छन् जसमा ११४ जनाको मृत्यु भएको छ भने ३२६ जना उपचारपछि घर फर्किएका छन्। – बीबीसी नेपाली सेवाबाट