काठमाण्डौ । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको त्रास विश्व अर्थतन्त्र खस्किएको बेला अमेरिकी डरल बलियो बन्दै गएको छ भने नेपाली रुपैयाँ झनै कमजोर बन्दै गएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको खरिद दर प्रतिडलर ११८.२४ रुपैयाँ र बिक्रीदर प्रतिडलर ११८.८४ रुपैयाँ तोकेको छ। यो यस वर्षकै उच्च हो।

हिजो सोमबार अमेरिकी डलरको खदिर दर प्रतिडलर ११७.६८ रुपैयाँ र बिक्रीदर प्रतिडलर ११५.८६ रुपैयाँ तोकिएको थियो। एक साताकै अवधिमा अमेरिकी डलरको विनिमय दर करिब ३ रुपैयाँले बढेको छ। गत फेब्रअुरी ९ तारिखमा अमेरिकी डलरको बिक्रीदर ११४.५३ रुपैयाँ थियो।

त्यसो त एक महिनाको अवधिमा अमेरिकी डलरको विनिमय दर करिब ४ रुपैयाँले बढेको छ । गत वर्ष २०१९ मार्च ९ तारिखमा अमेरिकी डलरको विनिमय दर ११२.५४ रुपैयाँ थियो भने २०१८ मार्च ९ तारिखमा १०४.५३ रुपैयाँ थियो।

दुई वर्षको अवधिमा अमेरिकी डलरको विनिमय दर १४ रुपैयाँले बढिसकेको छ। 

यद्यपि आजको अमेरिकी डलरको विनियम दर नेपालकै इतिहासमा उच्च भने होइन। यसअघि सन् २०१८ अक्टोबर १० तारिखमा अमेरिकी डलरको बिक्रीदर प्रतिडलर ११८.७३ रुपैयाँ र खरिददर प्रतिडलर ११९.३३ रुपैयाँ थियो। 

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेका कारण पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ।

डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू नेपालीका लागि महँगो हुन जाने भएकाले यसको असर प्रत्यक्ष रुपमा नेपाली अर्थतन्त्रमा देखिने अर्थविद्हरु बताउँछन्।